काठमाडाै : सभामुख अग्नि सापकोटाविरुद्ध परेका द्वन्द्वकालीन मुद्दाहरू सुनुवाइका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेका छन् । यसअघि पटक–पटक पेशीमा चढ्दै आए पनि सुनुवाइ हुन नसकेका मुद्दा बुधवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशीमा चढेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको इजलासमा ती मुद्दाहरूको पेशी तोकिएको छ ।
माओवादी सशस्त्र द्वन्द्वको समयमा काभ्रेका शिक्षक अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको आरोपसहित २०६९ सालमा लामाकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । मानवअधिकारकर्मी सुशील प्याकुरेल समेतले २०७२ सालमा दायर गरेको मुद्दा पनि संवैधानिक इजलासमा चढेको छ ।