तनहुँ : जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शुक्रबारदेखि दमौलीमा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्लाका दशवटै पालिकाबाट छनौट भएर आएर विद्यार्थीलाई प्रतिस्पर्धा गराउँदै प्रदेशमा पठाउनका लागि आयोजित प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगितामा पालिकामा आयोजित प्रतियोगिताका विजेता र उपविजेता सहभागी हुनेछन् । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कँराते, तेक्वान्दो र उस्सु लगायतका खेल सञ्चालन गरिने खेलकुद विकास समितिका सचिव तुल्सीराम पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले खेलले व्यक्तिको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने बताउँदै अनुशासित भएर खेल खेल्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा व्यवस्थित खेलमैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भएको महशुस भएकाले प्रत्येक पालिकामा व्यवस्थित खेलमैदान बनाउने अभियान अगाडी बढेको सांसद श्रेष्ठले जानकारी दिनुभयो ।
खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लास्तरबाट छनौट हुने खेलाडीले प्रदेशमा उत्कृष्ट प्रदर्शन गरी जिल्लाको नाम राख्नुपर्नेमा जोड दिनुभयो । नेपाली काङ्ग्रेसका कोषाध्यक्ष रेशम गुरुङ, खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष ऋषिराम भुषाल लगायतले अनुशासित भएर खेल खेल्दै उत्कृष्ट हुन खेलाडीलाई आग्रह गर्नुभयो ।