तनहुँ : जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिकास्थित सत्यवती माध्यमिक विद्यालयले जितेको छ ।
शनिबार सम्पन्न प्रतियोगिता अन्तर्गत विभिन्न विधामा कूल १२ पदक जित्दै सत्यवतीले उपाधि जितेको हो । सत्यवतीले ६ स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको छ । उपाधिसँगै सत्यवतीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने शिल्ड व्यास नगरपालिकालाई प्रदान गरिएको छ ।
प्रतियोगितामा आँबुखैरेनी गाउँपालिकास्थित मित्रता माध्यमिक विद्यालय द्वितीय भएको छ । प्रतियोगितामा मित्रताले पाँच स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालय तृतीय भएको छ । पञ्चमुनीले तीन स्वर्ण, दुई रजत र एक कास्य पदक जितेको छ । द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फको भलिबल प्रतियोगितामा शुक्लागण्डकीस्थित पञ्चमुनीदेव मावि प्रथम, व्यासस्थित निर्मल मावि द्वितीय र म्याग्देस्थित मिन मावि तृतीय भएको छ । महिलातर्फको भलिबलमा शुक्लागण्डकीस्थित पञ्चमुनीदेव मावि प्रथम, व्यासस्थित सत्यवती मावि द्वितीय र घिरिङस्थित चन्द्रज्योति मावि तृतीय भएको छ ।
प्रतियोगितामा दश वटै स्थानीय तहबाट ३२ विद्यालयको सहभागिता रहेको खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरि पण्डितले जानकारी दिनुभयो । पालिकामा आयोजित रनिङशिल्ड प्रतियोगिताबाट छानिएर आएका विद्यार्थीलाई जिल्लामा प्रतिस्पर्धा गराइएको थियो ।
विजयी खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे लगायतले पुरस्कार वितरण गर्नुभयो ।