कोरोनाको जोखिम बढेपछि मठमन्दिरमा पूजा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोनाको जोखिम बढेपछि मठमन्दिरमा पूजा बन्द

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७८, मंगलवार

    तनहुँ : कोरोनाको जोखिम बढेपछि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थलहरुमा पूजाआजा बन्द गरिएको छ । व्यास नगरपालिकामा अवस्थित छाब्दीवाराही मन्दिर र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ढोरवाराही मन्दिरमा मङ्गलबारदेखि पूजा बन्द गरिएको हो ।

    कोरोनाको जोखिम बढ्न थालेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सबै धार्मिक तीर्थस्थल, गुम्बा, मस्जिद, चर्च लगायतमा जमघट नगर्न निर्देशन जारी गरेको थियो । सोही बमोजिम व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर र शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरवाराही मन्दिरमा पूजाआजा रोकिएको हो ।

    छाब्दीवाराही मन्दिरका अध्यक्ष प्रेम थापाले कोरोनाको त्रास बढेसँगै मन्दिरमा पूजाआज रोक लगाइएको जानकारी दिनुभयो । “मन्दिरमा पूजाआजाका लागि विभिन्न जिल्लाबाट भक्तजन आउने र कोरोनाको जोखिम बढ्ने भएकाले पूजाआजा रोक लगाइएको हो,” उहाँले भन्नुभयो, “नित्य पूजा भने नियमित रहन्छ ।” शनिबारका दिन छाब्दीवाराही मन्दिरमा भक्तजनको अत्याधिक भीडभाड रहने गर्दछ ।

    शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले आजबाट ढोरावाराही मन्दिरमा पूजा रोकिएको जानकारी दिनुभयो । “प्रशासनले मन्दिरमा भीडभाड नगर्न सूचना जारी गरिसकेको अवस्थामा आजबाट पूजा रोकिएको छ,” श्रेष्ठले भन्नुभयो ।

    कोरोना कहरका कारण बन्द रहेको मन्दिर गत मङ्सिरदेखि मात्र भक्तजनका लागि खुल्ला गरिएको थियो । बाजस्थलमा रहेको ढोरवाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । यसर्थ टाढा टाढाबाट भक्तजन आउँछन् ।

    जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर रहेको छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउछ । मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुइजोर शिला छन् । पोखरीमा कम्तीमा पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनुले ढोरबाराही मन्दिरप्रतिको आस्थालाई अझ बढाएको छ ।

    पोखरीको मूलबाट पानीको ठूलो भल आउँछ । एकैछिनमा फेरि स्वतः घट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाइ धार्मिक आस्थासँग जोडिएको छ । ढोरबाराही माता प्रसन्न हुदाँ लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ ।

    मन्दिरमा बडादशँैको नवदु्र्गा, चैतेदशैँको नवदुर्गा, नयाँबर्षको दिन, वैशाख महिनाभर, श्रीपञ्चमी र हिउँदयाममा भक्तजनको ओइरो लाग्ने गर्दछ । मनले चिताएको पुरा हुने जनविश्वासका साथ मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङजा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् । यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर समेत मानिदै आएको छ । हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरवाराही मन्दिरमा देवीको चर्तुवाहु मूर्ति समेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टहरू समेत रहेका छन् ।

    ढोरवाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ ।

    मस्जिदमा सामाजिक दूरी

    व्यास नगरपालिका–४ स्थित नुरी हनफी जामे मस्जिदमा सामाजिक दूरी कायम गरी नमाज पढ्ने गरिएको छ । मुस्लिम समुदायको महान् पर्व रमदान चलिरहेकाले मुस्लिम धर्मावलम्बीले सचेतना अपनाएर मस्जिदमा नमाज पढ्ने गरेका हुन् । मस्जिदका सचिव मन्सुर अहमदले २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको जानकारी दिनुभयो । “सबैजना डराएको अवस्था छ, अधिकांश घरमै नमाज पढ्नुहुन्छ,” उहाँले भन्नुभयो ।