तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको छ । सङ्घको १६ औ अधिवेशनबाट निर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत पदाधिकारी एवं सदस्यहरुले बुधबार पदस्थापन गर्नुभएको हो ।
सो अवसरमा सङ्घका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराउँदै पद हस्तान्तरण गर्नुभयो । सोही क्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई माइन्युट समेत हस्तान्तरण गरिएको छ। लगत्तै नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष श्रेष्ठले शपथग्रहण गराउनुभएको छ।
तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्षका प्रत्यासी बैकुण्ठनाथ मिश्रले सबैको मन जितेर विजयी हुन सफल नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गर्नुभयो। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैको भावनालाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले निर्वाचनबाट चुनिएर आएका व्यवसायीले बोलेका प्रतिबद्धता पूरा गर्नेतर्फ लाग्न सुझाव दिनुभयो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पर्यटन प्रबर्धनका निम्ति नगरपालिकाले सारेका योजनालाई उद्योग वाणिज्य सङ्घले सहयोग गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेल, थर्पु बजार इकाई सभापति भीमलाल श्रेष्ठ लगायतले नवनिर्वाचित पदाधिकारीले व्यावसायिक हकहितमा काम गर्न सुझाव दिनुभयो ।