काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले तहगत अधिवेशनहरूको तिथि तय गरेको छ । गत वैशाख ६, १० र १२ गते भएको केन्द्रीय कमिटी बैठकको निर्णय सर्कुलर गर्दै एमालेले तहगत अधिवेशनको तिथिलाई अन्तिम रूप दिएको छ ।
पार्टीका महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको कार्यतालिकालाई कमिटीले परिमार्जनसहित पारित गरेर अन्तरपार्टी निर्देशन अपानिमार्फत् जिल्ला तहमा सर्कुलर गरेको हो । अपानिमा असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरेसँगै स्थानीय र प्रदेश तहका अधिवेशनहरू गर्ने भनिएको छ ।
एमालेले २०७८ साउन २५–२७ मा विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने अपानिमा उल्लेख छ ।
भदौ ५ गते वडा अधिवेशनको तिथि तोकिएको छ । भदौ १५ गते पालिका तहका कमिटीहरूको अधिवेशन गर्ने ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने संगठानात्मक योजना तय गरिएको छ ।
असोज २३ गते प्रदेश तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने बताइएको छ । तत्पश्चात सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने । मंसिर २ देखि ६ गतेसम्म दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ । फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटीले नै महाधिवेशनसम्बन्धी निर्णय गरेको थियो ।
https://baahrakhari.com/uploads/editor/Apani_CPN%20UML.pdf#viewer.action=download