व्यासको निर्णय : कोरोनाबाट मृत्यु हुने परिवारलाई रु दश हजार राहत, कर्मचारीलाई भत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको निर्णय : कोरोनाबाट मृत्यु हुने परिवारलाई रु दश हजार राहत, कर्मचारीलाई भत्ता

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०७८, शुक्रबार

    तनहुँ :   तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु दश हजार उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शववाहन र काजकिरिया खर्च बापत जनही रु दश हजार उपलब्ध गराउने निर्णय गरेको हो।

    सम्बन्धित वडाको सिफारिसमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै कोभिड-१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदूर परिवारलाई रु पॉच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताउनुभयो।

    नगरपालिकामा हालसम्म ६१६ जनाको पिसिआर परीक्षण गरिएकामा ४३३ जनाको प्रतिवेदन आउँदा २९१ सङ्क्रमित भएका छन् । त्यसमध्ये १० जनाको मृत्यू भएको छ । त्यस्तै ५९ जना संक्रमणमुक्त भएका छन् । २२२ जनाको सामुदायिक आइसोलेशन, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र होम आइसोलेशनमा उपचार भइरहेको छ । साथै १८३ जनाको पिसिआर रिपोर्ट आउन बॉकी छ।

    सबै पालिकाहरुको सहभगितामा गत वर्षको प्रतिबद्दता अनुसार व्यास-१० दुम्सीबजार स्थित आधारभूत स्वास्थ्य केन्द्र रहेको भवनमा पिसिआर परीक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय बैठकले अनुमोदन गरेको छ । उक्त भवनमा खरिद ऐन अनुसार खरिद एवं निर्माण प्रकृया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।

    यसका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकार र सबै तहका जनप्रतिनिधि, सामाजिक सङ्घ संस्थाहरुका साथै सरकारी एवं गैह्र सरकारी सङ्घ संस्थाहरुसँग सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको श्रेष्ठले बताउनुभयो ।

    आगामी वार्षिक कार्यक्रममा नगरपालिकाको नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थाहरुसँग सहकार्यका लागि आह्वान गर्ने  निर्णय समेत बैठकले गरेको छ ।

    कर्मचारीलाई भत्ता

    बैठकले  कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा खटिने कर्मचारीहरुलाई कार्य प्रकृति र त्यसको जोखिमलाई मध्यनजर गरि भत्ता उपलब्ध गराउने भएको छ । शुरु तलब स्केलमा २५ देखि एकसय प्रतिशतसम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।

    नगरपालिकाले  विपद्जन्य प्रतिकार्य योजना तयार पार्ने र गत वर्ष बाढी पहिरोले घर भत्किएका ७७ जना घर परिवारलाई राहत दिने सम्बन्धमा सङ्घीय सरकारको निर्देशिका बमोजिम तत्काल सहयोग उपलब्ध गराउने प्रकृया बारेमा सम्बन्धित निकायमा समन्वय गरि अगाडि बढाउने निर्णय भएको छ ।

    आगामी आ.ब. २०७८/०७९ को बजेट तथा कार्यक्रमहरु तर्जुमा गर्ने सम्बन्धमा वडागत र नगरस्तरीय तयारीको बारेमा समिक्षा गरिएको छ । आ.ब २०७६/०७७  का क्रमागत योजनाहरुलाई यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने र त्यस पछि क्रमागत योजनामा उक्त आ.ब का योजनाहरु समावेश नहुने गरी आगामी वर्षको कार्यक्रम तय गर्न बजेट तथा योजना तर्जुमा समिति र पूर्वाधार विकास शाखालाई निर्देशन दिने निर्णय भएको छ ।