एक हप्तासम्म आएन पिसिआर रिपोर्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक हप्तासम्म आएन पिसिआर रिपोर्ट

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०७८, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले गत जेठ २ र ३ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठायो । कोरोना सङ्क्रमण बढेपछि नगरपालिकाले पिसिआरको दायरा बढाउँदै स्वाब सङ्कलन गरी परीक्षणका लागि पठायो ।

    स्वाब पठाएको एक हप्ता बित्दा समेत प्रदेशले रिपोर्ट पठाएको छैन । रिपोर्ट आउनै ढिला भएपछि कोरोना जोखिम झन् बढेको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका–१० का एक व्यक्तिले स्वाब दिएको एक हप्तासम्म पनि रिपोर्ट नआउँदा मानसिक तनाव भएको बताउनुभयो ।

    नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रिपोर्ट ढिलाई भएकोबारे प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग जानकारी माग गरिएको बताउनुभयो ।

    नगरपालिकामा हालसम्म ६ सय ५९ जनाको पिसिआर स्वाब परीक्षण गरिएकामा तीन सय ५७ जना सङ्क्रमित भई एक सय २२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यसमध्ये दुई सय २४ जना उपचारको क्रममा छन् भने ११ जनाको मृत्यु भएको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भने प्रदेशभरबाट स्वाब थुप्रिएकाले रिपोर्टमा ढिलाई भएको बताएको छ ।

    तीन सय ५८ को रिपोर्ट आउन बाँकी

    स्वास्थ्य कार्यालयका अनुसार जिल्लाबाट पठाइएका तीन सय ५८ जनाको रिपोर्ट आउन बाँकी छ । व्यास नगरपालिकाको एक सय ७९, भिमाद नगरपालिकाको ७६, ऋषिङ गाउँपालिकाको १६, देवघाट गाउँपालिकाको २७, बन्दीपुर गाउँपालिकाको ३१ र आँबुखैरेनी गाउँपालिकाको २९ जनाको रिपोर्ट आएको छैन ।

    वैशाख १ गतेदेखि यता तनहुँमा एक हजार एक सय ७३ जनालाई कोरोना सङ्क्रमण भएकामा दुई सय २६ जना निको भई हाल ९ सय १६ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । जिल्लामा वैशाख १ गतेदेखि ३१ जनाको मृत्यु भएको छ ।