


तनहुँ : कोरोना जोखिम नियन्त्रणका लागि तनहुँमा जारी गरिएको निषेधाज्ञालाई थप कडा बनाइने भएको छ । सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ लागु भइसकेकाले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कडा कारवाही गरिने प्रशासनले जनाएको छ ।
उक्त अध्यादेश बमोजिमका कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँच लाख जरीवाना वा दुवै सजाय हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । साथै कसैले अध्यादेश बमोजिम जारी भएका मापदण्डको पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाखसम्म जरीवाना वा दुवै सजाय हुनेछ ।
उक्त अध्यादेश बमोजिम दिइएको आदेश उल्लङ्घन गरेमा प्रमुख जिल्ला अधिकारीले तत्काल जरीवाना गर्न सक्ने व्यवस्था गरिएको छ । कुनै व्यक्तिले उल्लङ्घन गरेमा एक लाखसम्म र संस्थाले उल्लङ्घन गरेमा पाँच लाखसम्म जरीवाना हुनेछ ।
मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरेमा पटकैपिच्छे एक सय, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रणमा गरिएका अवस्थामा सोको उल्लङ्घन गर्नेलाई पटकैपिच्छे दुई सय, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति बिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी साधन भए दुई हजार र अन्य सवारी भए पाँच हजार जरीवाना गरिने प्रशासनले जनाएको छ ।