संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास सबैको दायित्व : मुख्यमन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास सबैको दायित्व : मुख्यमन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०७८, शनिबार

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको बताउनुभएको छ। गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले नेपाली जनताको लामो त्याग, तपस्या र संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो दायित्व भएको उल्लेख गर्नुभयो।

    जनताका प्रतिनिधिबाट निर्वाचित जनप्रतिनिधि राष्ट्र प्रमुख हुने गणतान्त्रिक शासन व्यवस्थालाई जति बलियो बनाउन सकियो जनता त्यति नै बलियो हुन्छन् भन्ने कुरामा कुनै द्विविधा नरहेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

    “स्थापनाको १४ वर्षमा आइपुग्दा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु हाम्रा लागि गर्वको विषय हो,” उहॉले भन्नुभयो, “तर मुलुकमा पछिल्लो समय विकसित राजनीतिक अस्थिरताका बीच दलीय व्यवस्थाका आधारभूत मूल्य मान्यता र गणतन्त्रको प्रतीक संस्था राष्ट्रपतिमाथि हमला भइरहनु दुखद छ। यस्ता क्रियाकलापले गणतन्तन्त्रलाई कमजोर बनाउँछन्।
    यसमा जनता सचेत हुन जरुरी छ।”

    कार्यकारी अधिकार मन्त्रिषरिषदमा रहने शासन व्यवस्था हुँदा हुँदै पनि सरकारका सिफारिस अनुसार भएका कतिपय कामका लागि राष्ट्रपतिलाई दोषारोपण गर्नु राजनीतिक सचेतनाको अभावमात्रै नभई गणतन्त्रलाई कमजोर बनाउने नियोजित प्रयास भएको गुरुङको ठहर छ ।


    गणतन्त्र बलियो बनाउने मामलामा आआफ्नो ठाउँबाट योगदान गर्न म सबै जनतालाई अपिल गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “गणतन्त्रात्मक शासन व्यवस्थामा जनअपेक्षा धेरै छन्। यो बेला हामी कोभिड-१९ को महामारीसँग पनि जुधिरहनुपरेको छ र गणतन्त्र कमजोर बनाउन लागिरहेका अराजनीतिक तथा अराजकतासँग लडिरहनुपरेको छ। यी दुवै चुनौतीलाई हामीले परास्त गर्नुपर्छ ।”

    निष्ठापूर्वक जनतामा समर्पित भयौं भने कोभिड १९ र गणतन्त्र विरोधी दुवैलाई पराजित गर्न सकिने बताउँदै गुरुङले दह्रो आत्मविश्वासका साथ आफ्नो जिम्मेवारी अनुसार लागिपरिरहेको बताउनुभयो ।