किन काटियो दमौलीमा केबल तार ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    किन काटियो दमौलीमा केबल तार ?

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०७८, मंगलवार

    दमौली : एउटै पोलमा गुजुल्टिएका तारले शहर कुरुप बनाएको र दुर्घटनाको जोखिम बढाएपछि विद्युत प्राधिकरणले दमौलीस्थित सुनचॉदी लाइनका केही तार काटिदिएको छ । तारहरु व्यवस्थित गर्न पटक-पटक सूचना जारी गरेर सम्पर्कमा आउन आग्रह गरेपनि वेवास्ता गरिएपछि विद्युत प्राधिकरणले केही पोलको तार काटिदिएको हो ।

    तारहरुले आगलागीको जोखिम बढेको र सम्पर्कमा आउन आग्रह गर्दा पनि अटेर गरेपछि तार काट्नपरेको विद्युत प्राधिकरण तनहुँका प्रमुख कपिल पाण्डेले जानकारी दिनुभयो । “सञ्चारमाध्यमबाट सूचना प्रवाह गरेका थियौ, तर कोही सम्पर्कमा आउनुभएन,” उहॉले भन्नुभयो, “प्रारम्भिक कारवाही स्वरुप केही तार काटिएको हो ।”

    निषेधाज्ञाका कारण सबैजना घरमै रहेको र तार काटिदिँदा सर्वसाधारणलाई समस्या हुने भएपछि थप केही दिनको समय दिएर सेवा प्रदायकलाई सम्पर्कमा आउन भनिएको पाण्डेले जानकारी दिनुभयो । “प्रमुख जिल्ला अधिकारीले पनि केही दिनको समय दिन भन्नुभयो,” उहॉले भन्नुभयो ।

    दमौलीका विजुलीका पोलहरुमा जथाभावी तारहरु राखिदा भविष्यमा थप जोखिम हुने सम्भावना छ ।