दमाैली : तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको मङ्गलबार मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ निवासी ६३ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
जेठ १० गते कोभिड सङ्क्रमण भई अस्पताल भर्ना हुनुभएका उहाँको मृत्यु भएको अस्पतालका प्रमुख डा. सुनिल पौडेलले जानकारी दिनुभयो । १० गते अस्पताल भर्ना हुनुभएका उहाँलाई जनरल वार्डमा उपचारपश्चात् गम्भीर भएपछि १४ गते आइसियुमा सारिएको थियो ।
“हरसम्भव प्रयास गर्दा पनि आइसियुमा सारेको पाँच दिनपश्चात् उहाँलाई बचाउन सकिएन,” डा. पौडेलले भन्नुभयो, “उहाँलाई शुरुदेखि नै गाह्रो भएको थियो, सङ्क्रमण धेरै फैलिएपछि फोक्सोमा पानी जमेको थियो ।”
मृतक पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ ।