पाल्पा : पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । नगरपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, नागरिक सामज, गैरसरकारी संस्था, शिक्षक एवं स्वदेश तथा विदेशमा बस्ने नागरिकसँग सुझाव माग गरेको हो । स्थानीय तह यतिबेला बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा छन् ।
नगरपालिकाले नेपालको संविधान २०७२, १५ औ योजना, नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम, दिगो विकासका लक्ष्यहरू, लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम २०७८÷२०८९, स्थानीय सरकार सञ्चालन ऐन २०७४ सँग अनुकुल हुने गरि नगरवासीको आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ ।
सोही सम्बन्धमा जेठ २७ गतेभित्र सबैले नगरपालिकालाई सुझाव दिन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । “नगरपालिकाको नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव माग गरेका छौ,” नागिलाले भन्नुभयो, “सङ्कलन भएका सुझावहरुलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्छौ ।”
बजेट, नीति तथा कार्यक्रममा सबैको अपनत्व कायम गर्न खोजिएको नागिला बताउनुहुन्छ । “बजेट निर्माणमा सबै नागरिकको सहभागिता होस् भन्ने उद्देश्य हो, प्राप्त भएका सुझावलाई कार्यपालिका बैठकमा छलफल गरेर अगाडी बढ्छौ,” नागिलाले भन्नुभयो ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जनताको सुझावपश्चात् बजेट निर्माण गर्दा प्रभावकारी हुने बताउनुभयो ।