तनहुँ : तनहुँमा यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहलाई लक्षित गरी कोभिड विरुद्धको खोप लगाइने भएको छ । चीन सरकारबाट प्राप्त खोप तनहुँमा पनि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन लागिएको हो ।
राष्ट्रिय खोप कार्ययोजनाले तोकेको प्राथमिकता अनुसार खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । खोप लगाउँदा दोस्रो मात्राको सुनिश्चितता गर्नुपर्ने भएको हुँदा प्रत्येक स्थानीय तहलाई जेठ २३ गतेभित्र खोप दिनुपर्ने व्यक्तिको विवरण र सङ्ख्या स्वास्थ्य कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।
प्राप्त विवरण अनुसार मात्र स्थानीय खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिने र त्यसको प्रबन्ध स्वास्थ्य कार्यालय र स्थानीय तहले मिलाउनेछन् ।