


तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाले बिजुली, खानेपानी र स्वास्थ्यलाई प्राथमिकतामा राखेर विकासका कामलाई अगाडी बढाएको छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँपालिकाले जनताको आवश्यकता र मागलाई ध्यानमा राखेर विकासका काम अगाडी बढाएको हो।
जनताको आधारभूत आवश्यकतामध्ये बिजुली, खानेपानी, स्वास्थ्य शिक्षा, आवास र सडकलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । लामो समयदेखि टुकीको भरमा बस्दै आएका जनताको घरमा विजुली विस्तार गरिएको उहॉको भनाई छ।
चार वर्षको अवधिमा वडाबाट आएका विवरण अनुसार खरको छाना विस्थापित, शिक्षक दरबन्दी मिलान अन्तिम चरणमा पुगेको छ। ऋषिङ गाउँपालिका-४ भिरकोटामा दश शय्याको अस्पताल निर्माणको चरणमा रहेको गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको प्रवक्ता दरैले बताउनुभयो ।
उहॉका अनुसार ठूलो बस्ती भएका तर स्रोत नभएका ठाउँमा बोरिङ लिफ्टिङमार्फत् पानी पुर्याइएको छ । सडक अन्तरगत झापुटारदेखि ढुङ्गाडेसम्म कालोपत्रेको काम भइरहेको छ भने ऋषिङदेखि दुबुङ कालोपत्रे पुर्याउने अभियान अन्तरगत थप्रेकसम्म कालोपत्रे भएको छ । सपाङ्दी रुपटार कालोपत्रे शुरुवात भएको छ ।
गाउँपालिकाले यस अवधिमा वडा नम्बर ६ को भवन निर्माण सम्पन्न गरेको छ भने प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
ढाक्रे खोलामा पक्की पूल निर्माण सम्पन्न गरेको गाउँपालिकाले विभिन्न ठाउँमा झोलुङ्गे पुल समेत बनाएको छ। गाउँसभाबाट हरेक वडालाई रु एक/एक करोड विनियोजन गरिएकाले वडाले पनि जनताको आवश्यकता अनुसार नै विकासका काम सञ्चालन गरेको छ ।
सुझाव माग
आगामी आर्थिक वर्ष ०७८/७९ का लागि बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारी गरिएकाले गाउँपालिकाले सर्वसाधारणको सुझाव माग गरेको छ । जनताबाट प्राप्त सुझावलाई गाउँसभामा राख्ने प्रवक्ता दरैले बताउनुभयो ।