


दमौली : लायन्स क्लव अफ तनहुँ व्यास सिटीले सञ्चालन गरेको फूड बैङ्कलाई दमौलीका महिलाहरुले सहयोग गरेका छन् । विपन्नलाई सघाउन क्लवले सञ्चालन गरेको फूड बैङ्कलाई दमौलीका विभिन्न सङ्घसंस्थामा आबद्ध महिलाहरुले सहयोग गरेका हुन् ।
विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध दश जनाले क्लवलाई रु १२ हजार ५०० सहयोग गर्नुभएको छ। महिला उद्यमी सङ्घ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्ल, तनहुँ उद्योग वाणिज्य सङ्क महिला उद्यमी सभापति शकुन्तला आले, इनरह्लिल क्लव दमौलीकी अध्यक्ष आशा बानिया, पूर्व अध्यक्ष सरु श्रेष्ठ, क्षेत्री समाज महिला जिल्ला कार्य समिति अध्यक्ष मन्जु थापा, बेलु श्रेष्ठ, शर्मिला श्रेष्ठ, सनिता श्रेष्ठ, प्रमिला श्रेष्ठ र सविता श्रेष्ठले लायन्सको अभियानमा सघाउनुभएको हो।
सकारात्मक सोचका साथ सक्रिय भएर सामाजिक काममा खटिएको क्लवलाई आफूहरुको तर्फबाट केही सहयोग गरिएको महिला उद्यमी सङ्घ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले बताउनुभयो ।

“पिछडिएको वर्ग जसलाई अहिले सहयोगको खॉचो छ, सोही अभियानमा इट्टा थप्न हामीहरुले प्रयास गरेका हौ,” उहॉले भन्नुभयो।
विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगले फूड बैङ्क मार्फत विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न सकिएको क्लवका प्रथम उपाध्यक्ष प्रदीप मल्लले जानकारी दिनुभयो । उहॉका अनुसार क्लवले एक हप्ताको अवधिमा ८० विपन्न परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ। “माग धेरै छ, विपन्न परिवारलाई माग अनुसार नै सहयोग गर्छौ, यसका लागि थप सहयोगीको पनि खॉचो छ,” उहॉले भन्नुभयो ।