श्रीमान् श्रीमती नै अपाङ्ग भएपछि परिवारको विचल्ली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रीमान् श्रीमती नै अपाङ्ग भएपछि परिवारको विचल्ली

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०७८, बुधबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–११ पोल्याङका एक दम्पत्ति नै अपाङ्ग भएपछि परिवारको विचल्ली भएको छ । अपाङ्गता श्रीमानको हेरचाह साथै छोराछोरीको पालनपोषण गर्दै आउनुभएकी श्रीमती पनि अपाङ्ग भएपछि यो परिवार समस्यामा परेको हो ।

    श्रीमान् टोलबहादुर आलेको देब्रे खुट्टा चल्दैन । श्रीमान् अपाङ्ग भएपछि पाँच र १२ वर्षीया दुई छोरीको पालनपोषणको जिम्मेवारी पनि श्रीमती सुकमाया आलेको काँधमा थियो । तर जेठ ३ गते बेहोस भई ढलेपछि सुकमाया आलेलाई प्यारालाइसिस भएको छ । हाल उहाँका शरीरका अङ्ग चल्दैनन् ।

    मेलापात गरी श्रीमान् र छोरी पाल्दै आउनुभएकी सुकमाया पनि अपाङ्ग भएपछि अहिले आले परिवारको विचल्ली भएको छ । ऋषिङ गाउँपालिकाको काँहुडाँडा घर भई हाल सो ठाउँमा बस्ने आले परिवारलाई खाद्यान्नको लागि पनि समस्या भएको स्थानीयवासी एवं शिक्षक लोकराज सेढाइँले जानकारी दिनुभयो ।

    सुकमाया परिवारको आफ्नो नाममा जमिन समेत छैन । सुकमाया सो ठाउँ निवासी कमला कैनीको घरमा भाडामा बस्नुहुन्छ । मेलापात (निवेक) गरेर परिवार पाल्दै आउनुभएकी सुकमाया थलिएपछि छिमेकीको सहयोगमा जीवन धान्नु पर्ने अवस्था आएको छ । ‘‘उपचार गर्ने रकमको कुरै छोडौं आर्थिक अवस्था कमजोर भएकाले साना दुई छोरीहरुले पेटभरी खान समेत पाएका छैनन्,’’ नेपाल रेडक्रस सोसाईटी बेलटारी उपशाखाका सभापति भरतराज नहर्कीले भन्नुभयो ।

    सुकमायाका श्रीमान् टोलबहादुरका अनुसार नियमित थेरापी लगायतका उपचार गर्ने भने निको हुँदै जाने र त्यसका लागि रु दश लाख आवश्यक पर्ने बताएपछि उपचार नगरी फर्किएका छन् । ‘‘साथमा रु दश छैन कहाँबाट रु दश लाख खोज्ने ? हामी जस्ता गरिबलाई तिर्न नसक्ने भएकाले कसैले ऋण पनि दिँदैनन् त्यही भएर उपचार नगरी घरमै ल्याएँ,” उहाँले भन्नुभयो ।

    आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न सक्ने अवस्था नरहेपछि श्रीमतीको उपचारका लागि सबैसँग आलेले सहयोगको याचना गर्नुभएको छ । काम गरेर पाल्ने थला परेपछि हातमुख जोड्ने जोहो गर्ने र उपचार खर्च जुटाउने नहुदा परिवार आँशुमा डुबेको छिमेकीले बताएका छन् ।

    आर्थिक अवस्था कमजोर रहेकाले बाँकी उपचारका लागि खर्च गर्न सक्ने अवस्था नभएको सोही ठाउँ निवासी लक्ष्मी कैनीले जानकारी दिनुभयो । ‘‘एक आना जमिन पनि छैन त्यसमाथि पाल्ने नै अपाङ्ग भएपछि परिवारको बिचल्ली भएको छ,” उहाँले भन्नुभयो ।

    वडा कार्यालयले उपचारका लागि सहयोग गर्न नगरप्रमुखलाई सिफारिस गरेको छ । बुबा र आमा दुवै अपाङ्ग बनेपछि उनीहरुको दुई छोरीको पठनपाठनका लागि समेत समस्या देखिएको सोही ठाउँ निवासी सञ्चारकर्मी अमरराज नहर्कीले जानकारी दिनुभयो । नगर प्रमुख वैकुष्ठ न्यौपानेलाई भेटेर नगरपालिकाको तर्फबाट मद्दत पु¥याउन र अन्य सामाजिक सङ्घसंस्थाहरुबाट पहल भइरहेको नहर्कीले बताउनुभयो ।