दमौली : तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोभिड सङ्कट व्यवस्थापन महाअभियान अन्तरगत इकाईले नगर क्षेत्रका विभिन्न वडामा सञ्चालित स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री वितरण गरेको हो ।
इकाई सचिव माधव न्यौपानेले वडा नम्बर ६,७,८, ९,१०,११,१२ का स्वास्थ्य संस्थामा सामग्री वितरण गरिएको जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घले जिल्ला र पालिकास्तरमा सामग्री वितरण गरिरहेको सन्दर्भमा इकाई वडा-वडामा पुग्ने प्रयास गरेको उहॉले बताउनुभयो ।
यसैक्रममा इकाईले बिहीबार व्यास-५ स्थित पतेनी आधारभूत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । केन्द्रलाई मास्क, स्यानीटाइजर, फेसशिल्ड लगायतका सामग्री हस्तान्तरण गरियो । इकाई सभापति भूपाल आलेले उक्त सामग्री वडाध्यक्ष मोहनकुमार श्रेष्ठ र केन्द्र प्रमुख कमला गुरुङलाई हस्तान्तरण गर्नुभयो ।
सङ्कटको घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै सामग्री सहयोग गरिएको इकाई सभापति आलेले बताउनुभयो । उहॉका अनुसार इकाईले अस्पतालमा पानी, सुरक्षाकर्मीलाई खाजाको समेत प्रबन्ध गर्दै आएको छ ।
वडाध्यक्ष श्रेष्ठले प्राप्त सहयोगको सदुपयोग गर्ने बताउँदै सहयोगप्रति इकाईलाई धन्यवाद ज्ञापन गर्नुभयो ।