दमाैली : कोरोना कहर र निषेधाज्ञाका कारण रक्तदानका कार्यक्रम ठप्प छ । यसअघि नियमित रुपमा रक्तदान हुँदै आएपनि कोरोना कहरले रक्तदानका कार्यक्रम रोकिएका छन् ।
नियमित रक्तदानले दमौली अस्पतालमा डायलासिस लगायतका बिरामीले सहज रुपमा रगत पाइरहेका थिए । तर गत वैशाख २२ गतेदेखि निषेधाज्ञा लागू भएपछि दमौलीमा रगतको अभाव छ । बिरामीले सहज रुपमा रगत पाउन सकेका छैनन् ।
रगतको अभाव टार्ने प्रयास स्वरुप लायन्स क्लव अफ तनहुँ र लियो क्लव अफ तनहुँले शनिबार दमौलीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा ३० जनाले रगतदान गरेको लियो क्लव अफ तनहुँका २०२१–२२ का अध्यक्ष सुनिल मिश्रले जानकारी दिनुभयो । “निषेधाज्ञाका कारण रगतको अभाव छ, रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्नका लागि रक्तदानको आयोजना ग¥यौ,” उहाँले भन्नुभयो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सङ्कटको घडीमा रगतको अभाव टार्ने प्रयास गरेर क्लवले उदाहरणी कार्य गरेको बताउनुभयो । “सामाजिक सङ्घसंस्थाले समाजसेवाको काम गर्नुपर्छ, आज रगतको अभाव भएका बेला दुई संस्थाले गरेको कार्यक्रमले समाजमा राम्रो सन्देश प्रवाह गर्छ,” न्यौपानेले भन्नुभयो ।
जिल्ला अस्पताल रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा लायन्स क्लव अफ नेपाल ३२५ वि १ का पूर्व गर्भनर अशोककुमार श्रेष्ठ, दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले रगतदान पुण्यदान भएको चर्चा गर्नुभयो ।
रगत अभावमा दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रका मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुँदै आएको छ । नियमित रुपमा डायलासिस गराउँदै आएका मिर्गौैला पीडित रगत खोज्न आफै हिँड्नुपर्ने अवस्था आएको छ ।