दमाैली : दमौलीका व्यवसायीहरुले दिउँसो १२ बजेसम्म सम्पूर्ण पसल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाई सभापति भूपाल आलेको अध्यक्षतामा आइतबार बसेको वस्तुगत सङ्घका प्रतिनिधिहरुको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी १२ बजेसम्म पसल खोल्न पाउनुपर्ने माग गरेको हो ।
गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी भएको सन्दर्भमा व्यवसायीहरुलाई मार परेको भन्दै सम्बन्धित निकायमा यसका लागि अनुरोध गर्ने निर्णय भएको छ । बैठकले व्युटीपार्लर व्यवसायीहरुले श्रृङ्गारको सामग्री विक्री वितरण गर्न पाउनुपर्ने, बैङ्क तथा वित्तीय संस्थाहरुमा व्याज छुट, पुर्नकर्जा, किस्ता भुक्तानीको थप समय माग गर्ने निर्णय समेत गरेको छ ।
घरभाडा, सटरभाडा छुटका लागि सम्बन्धित सरोकारवालाहरुसँग अनुरोध गर्ने, पुस्तक तथा स्टेशनरी व्यवसायीलाई केही दिनका लागि विशेष समय उपलब्ध गराउन माग गर्ने, पुस्तक ढुवानीका लागि पास उपलब्ध गराउन माग गर्ने, होटल व्यवसायको हकमा प्याकिङ गरी होम डेलिभरीको व्यवस्थापन गर्न छुट दिनुपर्ने, राजश्व भुक्तानीका लागि आन्तरिक राजश्व कार्यालयमा कर छुट समयावधि थप गर्न माग गर्ने निर्णय भएको दमौली बजार इकाईले जनाएको छ ।
साथै सम्पूर्ण व्यवसायीलाई कोभिड १९ विरुद्धको खोप निःशुल्क लगाउनुपर्ने माग समेत गरिएको छ ।