पाेखरा : गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा नलिने बताउनुभएकाे छ ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्ले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने कानुन बनाउने निर्णय गरेको समाचार बाहिरिएपछि गुरुङले पूर्व मुख्यमन्त्रीका रुपमा कुनै सुविधा नलिने घोषणा गर्नुभएकाे हाे । गुरुङको सचिवालयका अनुसार उहाँले भन्नुभयाे, ‘मलाई पूर्व मुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन। त्यसैले लिनेछैन।’
पूर्व मुख्यमन्त्रीलाई सेवासुविधा दिने निर्णय भएको भनेर आएको समाचारबाट धेरैमा भ्रम पर्न गएको भन्दै नलिने प्रष्ट पारिएको उनको सचिवालयले जनाएको छ। सचिवालयले प्रष्ट पार्दै भनेको छ, ‘माननीय पृथ्वी सुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ। नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना माननीय पृथ्वीसुब्बा गुरुङज्यूको रहेको प्रष्ट पारिन्छ।’