तनहुँ : डिभिजन वन कार्यालय तनहुँले सर्वसाधारणलाई निःशुल्क बिरुवा वितरण शुरु गरेको छ । कार्यालयले नर्सरीमा उत्पादित बिरुवा सर्वसाधारणलाई निःशुल्क वितरण शुरु गरेको हो ।
कोरोना जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी रहेपनि स्वास्थ्य मापदण्ड अपनाई कार्यालयमा आएर सर्वसाधारणले बिरुवा लैजान सक्ने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष करिब तीन लाख २५ हजार बिरुवा वितरणको लक्ष्य राखिएको छ । डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयमार्फत् उक्त बिरुवा वितरण हुनेछ । तीन लाख ५० हजारको हाराहारीमा बिरुवा उत्पादन भएको छ । सव डिभिजन वन कार्यालय देवघाट, ऋषिङ, विमलनगर, म्याग्दे, शुक्लागण्डकी लगायतबाट सर्वसाधारणले निःशुल्क बिरुवा वितरण प्राप्त गर्न सक्नेछन् ।
कार्यालयबाट डालेघाँस, बकाइनो, राइखनियो, चाँप, तेजपात, खयर, कटहर, टाँकी, म्याङ्गोस्टीक, अमला, मसला, हर्राे, श्रीखण्ड, टिमुर, क्यासिया सेमिया, लप्सी, बडहर, चेरी, अम्बा, निमारो, जामुन, अशोका, खयर, अष्टिलेन ववुल लगायतका ३२ प्रजातिका बिरुवा वितरण भइरहेको छ ।
“बिरुवा लगेर मात्र हुँदैन, त्यसलाई संरक्षण गरेर हुर्काउनुपर्छ, बिरुवा लैजानेलाई पनि यस बारेमा सचेत गराएका छौ,” काफ्लेले भन्नुभयो । उहाँका अनुसार सर्वसाधारणले जति माग गर्छन् त्यति नै बिरुवा वितरण गरिनेछ ।
कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षारोपणका लागि समेत बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडी बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
तनहुँ जिल्ला बिरुवा उत्पादनको हबको रुपमा विकास भइरहेको छ । गण्डकी प्रदेशका एघार जिल्लामा रहेका डिभिजन वन कार्यालयमध्ये तनहुँले सबैभन्दा बढी बिरुवा उत्पादन गरेर पुरस्कृत समेत भएको छ । कार्यालयले जिल्लाभित्र मात्र नभई जिल्लाबाहिर पनि बिरुवा वितरण गर्ने गरेको छ ।
जिल्लाका कूल क्षेत्रफलमध्ये करीब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र ४ सय ४८५ वटा कबुलियती वन रहेको छ ।