तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानमा अष्ट्रेलियामा रहेको तनहुँवासीहरुले रु दुई लाख पाँच हजार आर्थिक सहयोग गरेका छन् ।
कोभिड न्यूनीकरणका लागि सङ्घले खडा गरेको कोषमा अष्ट्रेलियामा रहेका तनहुँवासीले उक्त रकम सहयोग गरेका हुन् । उक्त रकम व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको उपस्थितिमा मङ्गलबार सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
नगरप्रमुख न्यौपानेले सङ्घलाई विश्वास गरी देश तथा विदेशबाट रकम जुट्नु सकारात्मक रहेको भन्दै रकमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । सङ्घका अध्यक्ष श्रेष्ठले सङ्कटको घडीमा प्राप्त भएको रकमको सदुपयोग गर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो । श्रेष्ठले कोभिड सङ्कटको घडीमा व्यवसायीलाई निःशुल्क खोप र स्वास्थ्य मापदण्ड अपनाई व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाइदिन नगरप्रमुखसँग आग्रह गर्नुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्ल, नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व सभापति रामनाथ भट्टराई, नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय सदस्य वृषराज श्रेष्ठ, सङ्घका पूर्व अध्यक्ष शङ्करलाल राजभण्डारी, द्वितीय उपाध्यक्ष कुमार मल्ल, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, कार्यसमिति सदस्य एकप्रसाद श्रेष्ठ लगायत उपस्थिति हुनुहुन्थ्यो ।