तनहुँ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहूँको आयोजनामा मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको पुर्व अर्ध वार्षिक समिक्षा तथा जिल्लाको मानवअधिकारको अवस्थाको बारेमा छलफल कार्यक्रम बिहिबार दमौलीमा सम्पन्न भयो ।
मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव संकलन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले अहिलेको सन्दर्भमा स्वास्थ्य नै सबैभन्दा महत्वपुर्ण र सबैभन्दा ठुलो अधिकारको विषय भएको पुष्टि भएको बताउनुभयाे ।
कोभिडको दोश्रो लहर शुरु भएपछि तनहूँमा ३४७६ जना कोभिड संक्रमित भएकोमा २९२२ जना निको भई हाल ४ सय ६७ जना अझै सक्रिय संक्रमित रहेको अधिकारीले जानकारी दिनु भयो । संक्रमित मध्ये होम आईसोलेसनमा ४ सय ५० जना रहेका छन् । १३ जना आईसोलेसनमा रहेका छन् भने २ जना आईसियु र २ जना एचडियुमा उपचाररत रहेको अधिकारीको भनाई थियो । अधिकारीका अनुसार बैशाख १ गते यता तनहूँमा कोभिडको कारण ८७ जनाको मृत्यु भएको र जसमा १० जनाको जिल्ला भित्र मृत्यु भएको छ ।
तनहूँमा कोभिड अस्पताल र आईसोलेसनको संख्या १२ रहेकोमा बेड संख्या १ सय ९५ रहेको छ । तनहूँमा ७ भेन्टिलेटर र ४ आईसियु रहेको छ भने अक्सिजन सिलिन्डरको संख्या ३ सय ४६ रहेको छ । जिल्लाभर २९ वटा एम्बुलेन्स रहेको छ । यसैगरि तनहुँमा २२ हजार २ सय ४० जनाले पहिलोमात्राको कोभिड खोप लगाएका छन् भने ५ हजार २ सय २९ जनाले दोश्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कार्यालय सचिव राजेश्वर ढकालले संविधानले पनि मानवअधिकारका केही विषय वस्तुलाई मौलिक हकको रुपमा व्यवस्था गरेको हुँदा ति हकहरु जनताले प्रत्याभुत गर्न पाउनु पर्ने उनले बताए । स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकारलाई पनि प्रमुखताका साथ उठान गर्नु पर्ने उहाँको भनाई थियो ।
नेपाल पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेलले मानवअधिकार वर्ष पुस्तक एउटा महत्वपुर्ण दस्तावेज भएको बताउनु भयो । इन्सेकको प्रतिबेदन र पुस्तक सन्चारकर्मीहरुकोलागि महत्वपुर्ण श्रोत सामाग्री भएको पौडेलले बताउनुभयो ।
मानवअधिकार निगरानी समुहका सदस्य एवं आदिवासी जनजाती महासंघकी अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सहभागीहरुले पछिल्लो समयमा महिला तथा बालबालिका र जेष्ठ नागरिकहरु पीडित हुँदै गएको बताए । मानवअधिकार वर्ष पुस्तकले जिल्लाको मानवअधिकारको यथार्थ जानकारी दिने हुँदा यसमा महिला तथा बालबालिका पीडित भएका घटना समावेश गर्नु पर्ने उनीहरुको भनाई थियो ।
सो कार्यक्रममा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२१ को ६ महिनाको तनहूँ जिल्लाको मानवअधिकारको अवस्था तथा मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको प्रतिबेदन प्रस्तुत गर्नु यो । कार्यक्रममा ति घटनाहरु प्रस्तुत गरि सरोकारवाला निकायको सुझाव समेत संकलन गरिएको थियो ।