दमाैली : जिल्ला प्रशासन कार्यालय तनहुँले त्रिशुली, मस्र्याङ्दी र कालीगण्डकी नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबारसम्म हुन सक्ने वर्षाका कारण त्रिशुली, मस्र्याङ्दी र कालीगण्डकी नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।
मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाबाट आकस्मिक बहावको जानकारी प्राप्त भएकाले सहायक नदी एवं खोलानालाहरुमा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको प्रशासकीय अधिकृत राममणि मिश्रले बताए ।
बाढी, पहिरो र डुबान हुन सक्ने क्षेत्रमा नजान, नदी र खोलाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन गर्ने लगायतका कुनै पनि कार्य नगर्न, सेती मादी, त्रिशुली, मस्र्याङ्दी र कालीगण्डकी नदी लगायतमा अन्य खोलामा नजान आग्रह गरिएको छ ।
कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालिन सञ्चालन केन्द्रको फोन नम्बर ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६००११११ र प्रहरी उपरिक्षकको फोन नम्बर ९८५६०६५५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।