तनहुँ : नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री किरण गुरुङले सर्वोच्चको फैसलाले मुलुक निर्दलीयतातर्फ गएको बताएका छन् । संविधानको धारा ७६ को ५ मा टेकेर सर्वोच्चले दलीय व्यवस्थाको धज्जि उडाएको उनले बताए ।
पार्टीभित्रको आन्तरिक समस्यामा सर्वोच्चले अनावश्यक हस्तक्षेप गरेर आफ्नो विश्वसनीयता समेत गुमाएको गुरुङले बताए । “सर्वोच्च नै पक्ष विपक्षमा लाग्दा स्वतन्त्र न्यापालिकाको गरिमामा नै प्रश्न चिन्ह खडा भएको छ,” उनले भने ।
नेपाल कम्युनिष्ट पार्टीका सस्थापक नेता पुष्पलालको ४३ औ स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल तनहुँले बिहीबार आयोजना गरेको बैठक तथा अन्तरक्रिया कार्यक्रममा उनले भने, “पार्टी भित्र वैचारिक बहस हुनुपर्नेमा अवसरवाद हावी भएको हुँदा वैचारिक संगठन निर्माण गर्नुपर्ने अवस्था आएको छ ।” पार्टी निर्णय विरुद्ध गरिएको क्रियाकलापलाई अब नगर्ने शर्तमा आत्मालोचना गरेर आएमा पार्टीले माफी दिने उनले बताए ।
राष्ट्रिय युवा संघ तनहुँका संयोजक उज्जल खनालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य राम बहादुर गुरुङले पार्टीमा अराजकता मौलाएको बताए । जनताको मतलाई कुल्चने माननीयहरुले लोकतन्त्रको नाममा गम्भिर गल्ती गरेको उनको भनाई थियो ।
नेकपा एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले पार्टीमा वैचारिक विचलन आएको बताए । राष्ट्रिय युवा संघका केन्द्रीय सचिव महेन्द्र गुरुङले पार्टीभित्र भएको गलत कामको भण्डाफोर गर्न आवश्यक रहेको बताए ।