आन्तरिक राजश्वद्वारा लक्ष्यको ९९ प्रतिशत राजश्व सङ्कलन (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    आन्तरिक राजश्वद्वारा लक्ष्यको ९९ प्रतिशत राजश्व सङ्कलन (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७८, शनिबार

    तनहुँ : आन्तरिक राजश्व कार्यालय तनहुँले लक्ष्यको ९९.२५ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना कहर र निषेधाज्ञाका बाबजुद पनि कार्यालयले आफ्नो लक्ष्य भेटाएको हो ।

    आर्थिक वर्ष ०७७÷७८ मा कार्यालयले रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजश्व सङ्कलन गरेको प्रमुख कर अधिकृत डा. नारायण ढकालले जानकारी दिए । कार्यालयले उक्त आर्थिक वर्षमा रु आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । “विषम् परिस्थितिका बाबजूद पनि लक्ष्य नजिक राजश्व सङ्कलन भएको छ,” उनले भने, “कोरोना कहर र निषेधाज्ञा नभएको भए झन् बढी राजश्व सङ्कलन हुन्थ्यो ।”

    उहाँका अनुसार निषेधाज्ञाका कारण बढी कर तिर्ने उद्योग बन्द हुँदा राजश्व सङ्कलनमा केही कमी आएको हो । तनहुँमा सबैभन्दा बढी सूर्य नेपाल प्रालिले कर तिर्दै आएको छ ।

    कार्यालयले यस अवधिमा आयकरतर्फ रु एक अर्ब ५० करोड ६ लाख २० हजार, घरबहाल करतर्फ रु पाँच करोड ३७ लाख ४२ हजार, व्याजतर्फ रु आठ करोड चार लाख ४५ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ५९ करोड ४८ लाख ८१ हजार, अन्तशुल्कतर्फ रु पाँच अर्ब एक करोड १९ लाख ९२ हजार, स्वास्थ्यतर्फ रु एक अर्ब ७१ करोड ७ लाख ९४ हजार र शिक्षातर्फ रु एक लाख ८७ हजार राजश्व सङ्कलन गरेको छ ।

    आयकरतर्फ रु एक अर्ब ३५ करोड ५३ लाख ५१ हजार आठ सय, घरबहाल करतर्फ रु पाँच करोड ९४ लाख ५६ हजार, व्याजतर्फ रु सात करोड ९२ लाख ८३ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ४६ करोड ४८ लाख ६९ हजार, अन्तशुल्कतर्फ रु पाँच अर्ब ६५ करोड २४ लाख ४४ हजार, स्वास्थ्यतर्फ रु ९५ करोड २६ लाख २२ हजार र शिक्षातर्फ ४६ लाख ४४ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य थियो । कार्यालयले मूल्यअभिवृद्धितर्फ लक्ष्यको १२७.९७, व्याजतर्फ १०१.४७ र स्वास्थ्यतर्फ १७९.५० प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ भने अन्यतर्फ करिब लक्ष्य नजिक राजश्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ढकालले बताए ।

    उनका अनुसार असार महिनामा मात्रै रु एक अर्ब २२ करोड ७२ लाख २० हजार राजश्व सङ्कलन भएको थियो । वैशाख २२ गतेदेखि तनहुँमा निषेधाज्ञा जारी गरी सेवा प्रवाह बन्द गरिएकामा असार २० गते कार्यालय सुचारु भएको थियो ।

    कार्यालयले गत आर्थिक वर्ष ०७६÷७७ मा रु सात अर्ब ३५ करोड दुई लाख ५६ हजार राजश्व सङ्कलन गरेको थियो । उक्त वर्ष कार्यालयले रु आठ अर्ब ६० करोड ९६ लाख ५९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा ८५.३७ प्रतिशत मात्र राजश्व सङ्कलन भएको थियो ।

    कार्यालयले तनहुँ सहित लमजुङ, गोरखा र मनाङको असुली गणना, लेखापरीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । यद्यपि गत वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ । मनाङका करदाताले लमजुङबाट कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो ।

    १८३३६ करदाता थपिए

    कार्यालयमा एक वर्षको अवधिमा व्यावसायिक र व्यक्तिगत गरी कूल १८ हजार तीन सय ३६ करदाता थपिएका छन् । व्यावसायिकतर्फ ९ हजार तीन सय ३५ र व्यक्तिगततर्फ ९ हजार एक करदाता थपिएको प्रमुख कर अधिकृत ढकालले बताए । कार्यालयमा हालसम्म व्यावसायिकतर्फ ४१ हजार आठ सय ९ र व्यक्तिगततर्फ ३२ हजार ६ सय ४१ करदाता छन् ।

    कार्यालयले करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन करदाता शिक्षा कार्यक्रम, करदातासँग अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । “उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सको सहकार्यमा त्यो काम हुँदै आएको छ,” उनले भने ।