विपद् प्रतिकार्य योजनाको पुस्तक हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विपद् प्रतिकार्य योजनाको पुस्तक हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७८, सोमबार

    दमाैली : नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले विपद् प्रतिकार्य योजनाको पुस्तक जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने विपद् व्यवस्थापन समितिबाट तयार भएको पुस्तक रेडक्रस सोसाइटीले छपाई गरेर प्रशासनलाई हस्तान्तरण गरेको हो ।

    प्रशासन कार्यालयमा साेमबार आयोजित कार्यक्रममा रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्लेले प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष सागर आचार्यलाई उक्त पुस्तक हस्तान्तरण गरे । प्रत्येक वर्ष निर्माण गरिने विपद् प्रतिकार्य योजनाको पुस्तक छपाईको जिम्मेवारी यस वर्ष रेडक्रसले पाएको थियो ।

    रेडक्रस सोसाइटीले तीन सय पुस्तक प्रकाशित गरेकामा प्रशासनलाई दुई सय २५ थान पुस्तक हस्तान्तरण गरेको छ । बाँकी ७५ थान पुस्तक रेडक्रस केन्द्र, प्रदेश शाखा, जिल्लाका विभिन्न उपशाखालाई हस्तान्तरण गरिने सभापति वाग्लेले जानकारी दिए । रेडक्रस तनहुँकी मन्त्री चिनु पाेखरेलले प्रशासनले दिएकाे जिम्मेवारी रेडक्रसले पूरा गरेकाे बताइन् ।

    प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष आचार्यले जिल्लामा घट्न सक्ने विपद्का घटना पहिचान गरी न्यूनीकरणमा सहयोग पु¥याउन प्रतिकार्य योजना बनाइएको जानकारी दिए । “प्रतिकार्य योजना बमोजिम स्थानीय तहले आफ्ना योजना बनाए विपद्का घटना न्यूनीकरणमा सहयोग पुग्छ,” प्रजिअ आचार्यले भने ।

    मनसुनको समयमा घट्न सक्ने विभिन्न प्रकोपका घटनाहरु र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरण लगायतका कार्य गर्न कार्ययोजना बनाइएको उनले बताए । “सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिएका छौ,” उनले भने ।

    विपद् प्रतिकार्य योजनामा जिल्लामा जोखिमका क्षेत्र पहिचान गरिनुका साथै सम्बन्धित निकायले गर्नुपर्ने पूर्वतयारीका बारेमा जिम्मेवारी बाँडफाँड गरिएको छ । यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायहरुको अधिकतम परिचालन हुने, मनसुनको कारण उत्पन्न हुन सक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकायहरु तयारी अवस्थामा रहने विश्वास लिइएको छ ।

    विपद् प्रतिकार्य योजना अनुसार जिल्लाका दश पालिकाका ८५ वडामध्ये ६२ वडा पहिराका जोखिममा रहेको देखिएको छ । जिल्लामा बाढीपहिरो, आगलागी, चट्याङ, खडेरी लगायत विपद्का जोखिम हुन् ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।