तनहुँ : निषेधाज्ञा खुकुलो भएसँगै तनहुँमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला प्रशासन कार्यालयले सबै क्षेत्र खुकुलो बनाउँदै पछिल्लो पटक साउन २० गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । प्रशासनको निर्णय अनुसार जिल्लाका सबै मार्गमा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् भने सबै पसल व्यवसाय पनि खुल्ला भएको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणबाट लापरवाही बढेपछि कोरोना सङ्क्रमण बढेको हो । अनावश्यक भीडभाड, स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना सङ्क्रमण वृद्धि हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताए ।
पछिल्लो एक हप्ताको अवधिमा तनहुँमा दुई सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसक्रममा ७ सय ३१ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको थियो । “कूल परीक्षणको ३९ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ, यसले जिल्लामा कोरोना सङ्क्रमणदर बढेको देखिएको छ,” अधिकारीले भने, “निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणबाट स्वास्थ्य मापदण्ड अपनाएको देखिएको छैन ।”
निषेधाज्ञा खुकुलो भएपनि कोरोना जोखिम नघटेकाले स्वास्थ्य मापदण्ड अपनाउन अधिकारीले आग्रह गरे । “स्वास्थ्य मापदण्ड अपनाए मात्रै कोरोना सङ्क्रमण न्यूनीकरण हुन्छ, लापरवाही गर्नुभएन,” उनले भने, “यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।”
कार्यालयका अनुसार गत हप्ताको बिहीबार ८० मध्ये ३४, शुक्रबार ७१ मध्ये १२, शनिबार ८७ मध्ये ४१, आइतबार ७८ मध्ये १४, सोमबार एक सय ५० मध्ये ७९, मङ्गलबार ५६ मध्ये २१, बुधबार एक सय १२ मध्ये ६० र बिहीबार ९७ मध्ये २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । लापरवाही दिनप्रतिदिन बढ्दै गए सङ्क्रमणदर पनि वृद्धि हुँदै जाने अधिकारीले बताए ।
एक हप्तामा तनहुँका तीनको मृत्यु
कोरोना सङ्क्रमणबाट एक हप्ताको अवधिमा तनहुँका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी, व्यास र म्याग्देका एक÷एक जना रहेका छन् ।
कोरोना सङ्क्रमणबाट बिहीबार मात्रै शुक्लागण्डकी नगरपालिका–१ की ७१ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै साउन ८ गते व्यास नगरपालिका–१ का ५९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । साउन ७ गते म्याग्दे गाउँपालिका–५ की ४० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
चार महिनामा चार हजार सङ्क्रमित
दोस्रो लहरको कोरोना सङ्क्रमण शुरु भएपछि तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ६५ पुगेको छ । वैशाखदेखि साउन मध्यसम्म सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ६५ पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यस अवधिमा पाँच हजार ६ सय ७० पिसिआर तथा चार हजार एक सय ३६ एन्टिजेन परीक्षण गरिएको छ । त्यस्तै तीन हजार पाँच सय ७१ सङ्क्रमित निको भइसकेका छन् । हाल जिल्लामा तीन सय ९९ सक्रिय सङ्क्रमित छन् । जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा एक हजार तीन सय सातमा सङ्क्रमण पुष्टि भएको थियो भने सबैभन्दा कम देवघाट गाउँपालिकामा ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमण हुने दर भानु नगरपालिकामा बढी छ । उक्त नगरपालिकामा कूल परीक्षणको ५३ प्रतिशतमा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमितमध्ये अधिकांश होम आइसोलेशनमा छन् । होम आइसोलेशनमा तीन सय ७८, आइसोलेशनमा १२, आइसियुमा तीन र एचडियुमा ६ सङ्क्रमितको उपचार भइरहेको छ ।
९५ को मृत्यु
चार महिनाको अवधिमा तनहुँका ९५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भानुका सात, व्यासका २०, शुक्लागण्डकीका ४०, भिमादका १४, म्याग्देका छ, घिरिङका तीन, देवघाटका एक, बन्दीपुरका तीन र आँबुखैरेनीका एक जनाको मृत्यु भएको छ । ऋषिङमा भने कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शुन्य छ ।