उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७८, शुक्रबार

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत गएका छन् ।

    शुक्रबार दर्ता भएको रिटमा उनले यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको ११ साउनको निर्णय बदर गर्न माग गरेका छन् ।

    आयोगले ११ साउनमा जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत (३४ सदस्य) भएको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ ।

    आयोगको निर्णयले आफूहरु अन्यायमा परेको भन्दै ठाकुरले रिटमा १ असार २०७८ मा आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग समेत गरेका छन् ।