भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु : देउवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु : देउवा

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७८, शनिबार

    काठमाडौ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौ १६ गतेमै गराउने अठोट पुनः दोहोर्‍याएका छन् ।

    उनले सबै मिलेर विवाद समाधान गरेर जाऔं, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु’ भनेर बैठकमा महाधिवेशन गराउने अडान व्यक्त गरे ।

    पछिल्लो समयमा कांग्रेसका शीर्ष नेताहरू विवाद समाधानका लागि अहोरात्र खटेका छन् । तल्लो तहका नेताहरूले आफ्नो जिम्मेवारी पूरा नगरी केन्द्रमा क्रियाशील सदस्यको विवरण पठाएका कारण महाधिवेशनको स्थानीय तहको कार्यतालिका नै प्रभावित भएको छ ।

    नेताहरूका अनुसार क्रियाशील सदस्यताको ९८ प्रतिशतको काम सकिएको छ । यो विवाद समाधान गर्न लागि बूढानीलकण्ठमा शुक्रवार बसेको शीर्ष नेताहरू सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरूबीच घनीभूत छलफल भएको छ ।

    पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको विवाद मिलाउन नेताहरू छलफलमा जुटेको जानकारी दिँदै छिट्टै निकास निस्कने जानकारी दिए । उनले क्रियाशील सदस्यता छानबिन समितिले धेरै काम पूरा गरेकाले अब बाँकी विषय नेताहरूले टुंगो लगाउने बताए ।

    कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले सबै मिलेर विवाद समाधान गरेर जाऔं, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु’ भनेका छन् । प्रधानमन्त्री बैठकबाट बाहिरिए पनि अन्य नेताहरू लामो समयसम्म बैठकमा व्यस्त रहे ।

    डा. प्रकाशशरण महत सभापति देउवा र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल नेता पौडेलको सहयोगीका रूपमा उपस्थित थिए । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक बैठकमा सहभागी थिए ।