‘विकासका सवालमा सबैसँग हातेमालो’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ‘विकासका सवालमा सबैसँग हातेमालो’

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७८, मंगलवार

    पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विकासका सवालमा सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री पोखरेलले विकासका सवालमा प्रदेश सरकारले आफ्नोतर्फबाट सबैसँग हातेमालो गरी सँगसँगै हिँड्ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे ।

    गत आर्थिक वर्षमा पूँजीगत खर्चमा करिब ८५ प्रतिशत प्रगति हासिल भएको उहाँले बताउनुभयो । राजनीतिक चाप र संवैधानिक बाध्यताका बीच चालू आवका लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी सरकार त्यसको कार्यान्वनमा जुटेको मुख्यमन्त्री पोखरेलले बताए।

    प्रथम आवधिक योजनाले पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव संसाधन र सुशासनलाई प्राथमिकताका रूपमा लिएको भन्दै उनले यससँग जोडिएका अन्तरसम्बन्धित क्षेत्रको विकासमा पनि उत्तिकै जोड दिइएको बताए।

    प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले पूँजीगत खर्च बढ्दो रहे पनि काम गर्दै जाँदा समस्या थपिँदै गएको बताए । प्रदेश समस्या समाधान समितिका पहिलाका निर्णयसमेत कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले आगामी दिनमा त्यस्तो हुन नदिन सरकार क्रियाशील रहने बताए। गण्डकीमा विकास कार्यमा आम सहमति र सहकार्यको संस्कार रहेको भन्दै उनले आन्तरिक स्रोत परिचालन वृद्धि गर्ने आधार सुरक्षित रहेको धारणा राखे ।

    प्रदेश प्रमुख सचिव डा दामोदर रेग्मीले सङ्घीयतालाई संस्थागत गर्ने गरी काम गर्नुपर्ने बताउँदै तीन तहका सरकारको क्षेत्राधिकार प्रष्ट भएकाले त्यसैअनुसार कार्यसम्पादन गरे कुनै समस्या नआउने बताए । नगरपालिका सङ्घ गण्डकी संयोजक दीपकबाबु कँडेलले प्रदेश सरकारले ससाना योजनामा ध्यान नदिन नहुने बताउँदै जिल्ला तहमा कार्यालय खोलेर स्थानीय सरकारलाई कमजोर नबनाउन आग्रह गरे।

    वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले संविधानमा उल्लेखित अनुसूचीमा ख्याल गरे कुनै समस्या नआउने बताउँदै प्रदेश सरकारले जिल्ला तहमा कार्यालय खोल्न थालेको भन्दै असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा प्रदेशका ११ वटै मन्त्रालय र प्रदेशसभाका सचिवले वार्षिक प्रगतिका साथमा भोग्नुपरेका समस्याका बारेमा प्रस्तुति गरेका थिए ।