दुई दिनमा तीन हजार गाजाका बोट नष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई दिनमा तीन हजार गाजाका बोट नष्ट

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७८, मंगलवार

    दमाैली : प्राकृतिक रुपमा उम्रिएका गाजा फँडानीका लागि तनहुँ प्रहरीले अभियान नै चलाएको छ । गाँजाका कारण समाजमा विकृति, विसङ्गति बढ्ने भन्दै प्रहरीले जिल्लाका विभिन्न स्थानमा गाजा फँडानी अभियानलाई तीव्रता दिएको छ ।

    प्रहरीले पछिल्लो दुई दिनको अवधिमा ३५ रोपनी जग्गामा उम्रिएका प्राकृतिक गाजाका बोट नष्ट गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले बताए । उनका अनुसार बन्दिपुर, म्याग्दे, भानु, भिमाद, व्यास र घिरिङका विभिन्न स्थानमा उम्रिएका तीन हजार ८० गाजाका बोट नष्ट गरिएको छ ।

    प्रहरीले गाजा फँडानीका लागि स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लवका पदाधिकारीसँग समन्वय गर्ने गरेको छ । “लागुऔषध, गाजा, कोकिन लगायतका नसालु पदार्थ सेवनले मानव स्वास्थ्यमा पार्ने प्रतिकूल असरका सम्बन्धमा जनचेतनामूलक कार्यक्रम समेत सँगसँगै अगाडी बढाएका छौ,” प्रनाउ तिमिल्सनाले भने ।

    बन्दिपुर गाउँपालिका–४ स्थित सिल्थेक, बरालथोक, तीनधारा, भैसेखार र चेन्चामा एक हजार चार सय गाजाका बोट नष्ट गरिएको छ । म्याग्दे गाउँपालिका–७ हर्षपुरमा स्थानीय युवा क्लवको सहयोगमा तीन सय ४०, भानु नगरपालिका–११ रुपाकोटमा छ सय, भिमाद नगरपालिका–७ राजढुङ्गामा एक सय ४०, व्यास नगरपालिका–१० कुचेटारमा दुई सय ५०, घिरिङ गाउँपालिका–१ अमराईटोलमा तीन सय ५० गाजाका बोट नष्ट गरिएको छ । प्रहरीले यसअघि घिरिङ, शुक्लागण्डकी र व्यास नगरपालिकाका विभिन्न ठाउँमा ९ सय ८० गाजाका बोट नष्ट गरिसकेको छ ।