तनहुँ : विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यानका तीन र रहजनी चोरीका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा दुई महिना दुई दिन कैद र रु तीन हजार जरीवाना तोकिएका म्याग्दे गाउँपालिका–२ शेराफाँट बस्ने २५ वर्षीय उत्तम श्रेष्ठ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले विसं २०७७ मङ्सिर १६ गते कैदको फैसला सुनाएको थियो ।
कर्तव्य ज्यान मुद्दामै एक महिना २९ दिन कैद र रु तीन हजार जरीवाना तोकिएका सोही ठाउँका २२ वर्षीय सन्जोग गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले विसं २०७७ मङ्सिर १६ गते कैदको फैसल सुनाएको थियो ।
कर्तव्य ज्यान मुद्दामै सोही ठाउँका २२ वर्षीय सुदिप श्रेष्ठ भन्ने हिमलाल श्रेष्ठ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले विसं २०७७ मङ्सिर १६ गते दुई महिना १७ दिन कैद र रु तीन हजार जरीवानाको फैसला सुनाएको थियो ।
यस्तै रहजनी चोरी मुद्दामा फरार व्यास नगरपालिका–२ घर भई हाल पोखरा १७ बिरौटा बस्ने २६ वर्षीय मबिन भन्ने मेगसिं गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले विसं २०७३ वैशाख १७ गते एक महिना ६ दिन कैद र रु १३ हजार ९ सय ९२ जरीवानाको फैसला सुनाएको थियो ।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।