मुख्यमन्त्री पोखरेलद्वारा जिपी कोइराला अस्पताल निरीक्षण (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुख्यमन्त्री पोखरेलद्वारा जिपी कोइराला अस्पताल निरीक्षण (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७८, शुक्रबार

    दुलेगाैडा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको शुक्रबार निरीक्षण गरेका छन् । पूर्व प्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको उक्त अस्पतालको मुख्यमन्त्री पोखरेलले निरीक्षण गरेका हुन् ।

    सो क्रममा क्रममा मुख्यमन्त्री पोखरेलले अस्पतालले प्रवाह गर्दै आएको सेवाको बारेमा जानकारी लिएका छन् । अस्पताल सङ्घीय सरकार मातहत रहेपनि गण्डकी प्रदेश सरकारको तर्फबाट आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।

    निरीक्षणका क्रममा गण्डकी प्रदेश सांसद डोवाटे विक, सरिता गुरुङ, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रमुख जिल्ला अधिकारी सागर आचार्य लगायत सहभागी थिए ।

    सो क्रममा मुख्यमन्त्री पोखरेललाई अस्पतालका सञ्चालक एवं चिकित्सकहरुले अस्पतालले प्रवाह गर्दै आएको सेवाका बारेमा जानकारी गराएका थिए । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले केही वर्ष अघि पूर्व प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भईसकेको छ ।

    अस्पतालमा तीन जना विशेषज्ञ र ९ जना मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही दिन अगाडीबाट मात्र कल्चर सेवा पनि शुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशन लगायतका सेवा दिइरहेको छ ।

    अस्पतालले कोरोना सङ्क्रमितको पनि उपचार गरिरहेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि दश वटै स्थानीय तहको लागत साझेदारीमा आइसोलेशन केन्द्र निर्माण गरिएको छ । आइसोलेशन केन्द्रमा अक्सिजन सहितको व्यवस्था मिलाइएको छ ।