दमाैली : २७ औ विश्व आदिवासी दिवसको अवसरमा तनहुँमा रक्तदानको आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आदिवासी दिवसको अवसरमा शनिबार दमौलीमा रक्तदान कार्यक्रम गरेको हो ।
कोभिड कहर र निषेधाज्ञाका कारण रगत अभाव हुँदा दमौली अस्पतालमा उपचाररत मिर्गौला लगायतका बिरामीलाई समस्या भएकाले रक्तदान गरेर सङ्कट टार्ने प्रयास गरिएको समन्वय परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताइन् । “विगतका वर्षहरुमा आदिवासी दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम गथ्र्यौ, अहिले कोरोना कहरका कारण त्यस्तो कार्यक्रम गर्न सम्भव भएन,” उनले भनिन्, “थोरै भएपनि रगत सङ्कलन गर्न सकिए बिरामीलाई राहत हुन्छ भन्ने हेतुले यो कार्यक्रम ग¥र्र्याै ।”
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रक्तदान जीवनदान भएकाले यो जस्तो पुण्यको काम अरु हुन नसक्ने बताए । “रगत अभावमा कसैले पनि ज्यान गुमाउन हुँदैन, आदिवासी दिवसको अवसरमा आयोजित यो कार्य पुण्यको कार्य हो,” उनले भने । नगर प्रमुख न्यौपानेले नगर क्षेत्रभित्रका मिर्गाैलाका बिरामीलाई डायलासिस गराउनका लागि नगरपालिकाले पनि चालु आर्थिक वर्षमा बजेटको व्यवस्था गरेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोना सङ्क्रमण दिनदिनै बढ्दै गएकाले सतर्क अपनाउनुपर्नेमा जोड दिए । उनले रगतको समस्या समाधानका लागि गरिएको कार्यक्रमको प्रशंसा गरे ।
दमौली अस्पताल रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रगत दान गरेको समन्वय परिषद्का सचिव नन्दु थापाले जानकारी दिए ।
कोरोना कहर र निषेधाज्ञाका बीचमा पनि तनहुँमा विगत केही दिनदेखि रक्तदानका कार्यक्रम भइरहेका छन् । शुक्रबार मात्रै लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदानमा एक सय तीन पिन्ट रगत सङ्कलन भएको थियो । त्यस्तै केही दिन अगाडी लायन्स क्लव अफ म्याग्देले गरेको कार्यक्रमबाट एक सय ५९ पिन्ट रगत सङ्कलन भएको थियो ।
कोरोना कहर अगाडी नियमित रक्तदानका कार्यक्रम हुँदा बिरामीलाई पनि सहज थियो । तर कोरोना कहरले रक्तदानका कार्यक्रम रोकिदा विशेषगरी डायलासिसका बिरामी मर्कामा परेका छन् । रगत अभाव हुँदा बिरामीले पोखरासम्म पुगेर रगतको जोहो गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।