


दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका–९ सिम्लेका पहिरो पीडितलाई राहत वितरण गरिएको छ । असार १७ गतेको वर्षाले पहिरो जॉदा घरबास गुमाएका ८ परिवारलाई राहत दिईएको हो । गैर आवासीय नेपाली संघ कंगोले पठाएको रकम र यहाँका आमा समुह, भुपु सैनिक र स्थानीयबाट संकलित रकम पहिरो पीडित परिवारलाई दिईएको हो ।
पहिरोले विस्थापित ८ परिवारलाई १० हजार रुपैयाँका दरले गण्डकी प्रदेशसभा सदस्य आशा कोईराला,शुक्लागण्डकी–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठ र शुक्लागण्डकी–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले हस्तानतरण गरे । तीन परिवारलाई प्रेसर कुकर समेत उपलब्ध गराईयो ।
सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य कोईरालाले विस्थापितलाई घर बनाउन सरकारले ४ लाख रुपैयाँ दिने जानकारी गराइन् । ‘जग्गा नभएकालाई पनि घर बनाउन राज्यलले जग्गाको व्यवस्थापन गर्नेछ’, उनले भनिन् । अब घर बनाउदाँ बाढी पहिरोको जोखिम नभएको स्थानमा बनाउनुपर्ने उनको भनाई छ । अमर शान्ति मोटरमार्ग मर्मत सुचारु गर्न प्रदेश सरकारबाट बजेटको व्यवस्थापन गर्ने कोईरालाको प्रतिबद्धता छ ।
शुक्लागण्डकी–९ का वडाध्यक्ष श्रेष्ठले यसपालीको बाढी पहिरोले विकास कसरी गर्ने पाठ सिकाएको बताए । उनले बस्तीलाई कसरी सुरक्षित गराउन सकिन्छ विकल्प खोज्नुपर्ने बेला आएको उल्लेख गरे ।
शुक्लागण्डकी–१० का वडाध्यक्ष भण्डारीले विनाश नहुने गरी विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘भुगोलको कारण सडक खन्दा ठुलो क्षति भएको छ । विकास गर्दा बस्ती नै विनाश हुन्छ भने विकासको के अर्थ रह्यो र ? अब विज्ञको सल्लाह अनुसार विकास गर्नुपर्छ ।’ कसरी बस्तीलाई सुरक्षित पार्न सकिन्छ त्यसमा पहल गर्ने उनको भनाई छ ।
गैर आवासीय नेपाली संघ कंगोले ९५ हजारु ५५ रुपैयाँ पठाएको थियो । मिनमखानी आमा समुह शुक्लागण्डकी–१० ले १० हजार ५ सय ५५ रुपैयाँ र लहरे तल्लो पातीस्वाँरा आमा समुहले १० हजार ५५ रुपैयाँ दिएका थिए । भुपु सैनिक र स्थानियले दिएको रकमसहित गरेरर १ लाख ७७ हजार १ सय ४० रुपैयाँ संकलन भएको थियो । बाँकी रकम अमरशान्ति मोटरमार्ग मर्मतमा खर्च गरिनेछ ।
अमरशान्ति मोटरमार्गबाट झरेको पहिरोले उनीहरु विस्थापित भएका हुन् । सुरक्षित ठाउँमा स्थानतरण गर्नुपर्ने विस्थापितको माग छ । असार १७ गतेको पहिरोमा सिम्लेका दुई जना पुरिएका थिए । तत्कालै उद्धार गरिएका उनीहरु सामान्य उपचारपश्चात निको भए । घरसंगै पशुचौपाय र खेतबारीमा भने ठुलो क्षति पुगेको सिम्ले टोल बिकास संस्थाका अध्यक्ष झकबहादुर महतले बताए ।
यहाँका पहिरो पिडितलाई यसअगाडी लायन्स क्लबले लत्ता कपडा र सुर्य नेपाल प्रालिले खाद्यान्न सहयोग गरेको थियो ।