‘द भ्वाइस’को टाइटल जित्दा ‘नेपालको नागरिकता’ पाएको महशुस भएको छः किरण गजमेर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘द भ्वाइस’को टाइटल जित्दा ‘नेपालको नागरिकता’ पाएको महशुस भएको छः किरण गजमेर

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७८, आईतवार

    काठमाडौ: नेपालको नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन शनिबार सम्पन्न भएको छ । किरण गजमेरलाई देशको नयाँ भ्वाइसको रुपमा चयन गर्दै रियालिटी शोको तेश्रो श्रृङ्खला सफलतापूर्वक सम्पन्न भएको हो ।

    कोच प्रमोद खरेलको टिमबाट किरणले यो टाइटल जिते । साथमा उनले २५ लाख र ट्रफी समेत पाएका छन् ।

    ट्रफी जितेपछि भावूक बनेका किरणले आफ्नो सपना पुरा भएको प्रतिक्रिया दिए । मिडिया कुराकानीमा उनले भने–‘हामी देश खोज्दै हिडिरहेका नागरिक हौं । हामी हाम्रो रोजाइले भन्दा पनि वाध्यताले विकसित राष्ट्रमा पुगेका हौं । तर, मेरो पनि खुशी थिएनँ । आफ्नो देश, भाषा, पोशाक विर्सन सकिदैन । मेरा गुमेका आफन्तहरुसँग नजिक हुने चाहना थियो । आज मैले मेरो गुमेको परिवार पाएको छु ।’

    किरण भुटानी शरणार्थीको रुपमा करिब १४ बर्ष ‘भुटानी शरणार्थी शिविर’मा बसे । नेपालको नागरिकता लिने उनको सपना पुरा हुन सकेन । भलै, उनीसँग आज अमेरिकाको नागरिकता छ । किरणले भावूक हुँदै भने–‘भ्वाइस अफ नेपालको ट्रफी मेरो लागि नागरिकता पाए जस्तै नै हो ।’

    उनले आफूले अब आउने पुस्तालाई प्रभावित पार्न चाहेको पनि बताए । किरणले यो शो जितेसँगै २५ लाख पुरस्कार पनि पाएका छन् । उनले, यो रकम नेपालमै सामाजिक कामका लागि खर्च गर्ने बताए । भने–‘म पनि हिजो खुट्टामा चप्पल नलगाई कैयौं संघर्षका पाइलाहरु हिडेको छु । आज मेरो जीवन शरणार्थी जीवन भन्दा केही माथि उठेको होला । तर, अमेरिकामा धनाढ्य जीवन बाँचेको छैन । मेरो बाबु–आमाले आज पनि सामान्य जागिर खाएर हामीलाई पालिरहनुभएको छ । आज पनि भुटानी शरणार्थी शिविरमा एम्बुलेन्स नपाएर कैयौं मानिसहरुले अकालमै ज्यान गुमाउनुभएको छ । मेरो हजुरआमाको पनि एम्बुलेन्स समयमा नआएर शिविरमै निधन भएको हो । यसैले, शरणार्थी शिविरमा एउटा एम्बुलेन्स खरिद गर्नेछु । साथै, नेपालको पश्चिममा आवश्यक पर्ने कुनै एक स्थानका लागि पनि एम्बुलेन्स खरिद गर्नेछु ।’ (अनलाइन खबरबाट)