प्रशासनको आदेश उल्लङ्घन गरी मान्छे भेला गरेर रोटर्याक्टको तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासनको आदेश उल्लङ्घन गरी मान्छे भेला गरेर रोटर्याक्टको तालिम

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७८, आईतवार

    दमौली : कोरोना सङ्क्रमण बढेको र तेस्रो लहर आउन सक्ने सम्भावना सहित जिल्ला प्रशासन कार्यालय तनहुँले जारी निषेधाज्ञा साउन ३२ गतेसम्म लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्वारा जारी निषेधाज्ञा आदेशमा भौतिक उपस्थितिमा तालिम, सेमिनार गर्न पूर्ण निषेध गरिएको छ ।

    तर केही समय अगाडी मात्रै स्थापना भएको रोटर्याक्ट क्लव अफ भानुले भने प्रशासनको आदेशको ठाडो उल्लङ्घन गर्दै मान्छे भेला गराएर तालिम आयोजना गरेको छ । भानु नगरपालिका-२ को सहयोगमा क्लवले नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया तथा तालिम आयोजना गरेको हो ।

    उक्त कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेलले समेत सहभागिता जनाएका थिए । सामाजिक संस्थाको छवि बनाएको रोटर्याक्टले प्रशासनको आदेश उल्लङ्घन गरेर कार्यक्रम गरेपछि आलोचना भएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गरेर भौतिक उपस्थितिमा तालिम, सेमिनार गर्न नपाइने बताए । “कोरोना जोखिम बढेको छ, प्रशासनको आदेश विपरित कार्य गर्न पाइँदैन,” उनले खबरपुञ्जसँग भने, “हामी अनुगमन गर्छौ ।”

    रोटर्याक्ट क्लव अफ भानुका अध्यक्ष सन्तोष ढकालले भानु क्षेत्रका युवालाई नेतृत्व विकास सम्बन्धी तालिम आवश्यकता भएकाले कार्यक्रम गरिएको बताए । “प्रशासनको आदेशका बारेमा जानकारी पनि भएन, तर पनि कोरोना जोखिमका कारण सबै सावधानी अपनाएका थियौ,” उनले भने । उनले उक्त कार्यक्रममा ३० जनाको सहभागिता रहेको दावी गरे ।