दमाैली : तनहुँको व्यास नगरपालिका–१२ छिर्कने निवासी २८ वर्षीय दुवै मिर्गौला पीडित अनुप क्षेत्रीको मिर्गौला प्रत्यारोपणका लागि शान्तिदिप युवा क्लवले एक लाख हस्तान्तरण गरेको छ । व्यास नगरपालिका–६ शिशाघाटस्थित युवा क्लवले मिर्गौला पीडित क्षेत्रीको उपचारमा सघाउन मङ्गलबार एक लाख हस्तान्तरण गरेको हो ।
क्लवको तर्फबाट सङ्कलित ९१ हजार, युवा सङ्घ व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठको तर्फबाट पाँच हजार र आले फर्निचरका प्रोपाइटर केशर आलेबाट चार हजार गरी एक लाख पीडितलाई हस्तान्तरण गरिएको हो ।
विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन भएको उक्त रकम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे, व्यास नगरपालिका–१२ का वडाध्यक्ष तोत्रबहादुर कुंवर र क्लवका अध्यक्ष सूर्यप्रसाद छिमालले संयुक्त रुपमा पीडितका बुबा पदम क्षेत्रीलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले युवाहरु सामाजिक काममा सक्रिय हुनुपर्ने र यो क्लव उदाहरणीय बन्न सफल भएको बताए । वडाध्यक्ष तोत्रबहादुर कुंवरले मिर्गाैला पीडित अहिले हरेक नेपालीको समस्या बनेको बताउँदै युवा क्लवको सक्रियतामा रकम सङ्कलन गरी हस्तान्तरण गरेर सराहनीय काम गरेको चर्चा गरे ।
क्लवका अध्यक्ष सूर्यप्रसाद छिमालले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा रकम सङ्कलन गरिएको जानकारी दिए । मिर्गौला पीडित अनुपको बारेमा जानकारी पाएपछि रकम सङ्कलन गरिएको र उक्त रकमले पीडितको उपचारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
यसअघि पनि क्लवले विभिन्न सामाजिक काम गर्दै आएको छ । क्लवले कोरोना कहरका कारण समस्यामा परेका विपन्न परिवारलाई रु दुई लाख बराबरको खाद्यान्न सहयोग गरिसकेको छ ।
मिर्गौला पीडितका बुबा पदम क्षेत्रीले आर्थिक अभावमा छोराको मिर्गौला प्रत्यारोपणमा समस्या भएको बताउँदै सहयोगका लागि सबैसँग अपिल गरेका छन् । मिर्गौला पीडितलाई उनकै आमाले मिर्गौला दिने तयारी गरेपनि प्रत्यारोपणका लागि १५ लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएको उनले जानकारी दिए ।