तनहुँ : तनहुँमा भदौ ७ गतेसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक सागर आचार्यले भदौ १ गतेदेखि लागू हुने गरी सोमबार निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष सहित यसअघि जारी निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो । यसअघि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजेसम्म कायम छ ।
प्रमुख जिल्ला अधिकारी आचार्यले थपिएको निषेधाज्ञामा पहिलाको भन्दा कडाई गरिने बताए । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जरीवाना गरिने उनले बताए । “निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ, निषेधाज्ञा उल्लङ्घन गर्ने विरुद्ध जरीवाना गर्छौ,” उनले भने ।
यसअघि सञ्चालन हुँदै आएका पसल खोल्ने समय घटाइएको छ । बैठकले तरकारी, फलफूल तथा खाद्यान्न बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको छ । त्यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्ने भएको छ । यसअघि ती व्यवसाय बिहान ७ देखि साँझ ४ बजेसम्म खुल्दै आएका थिए ।
सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, सैलुन सेवा, व्युटीपार्लर, जिमखाना, स्विमिङ पुल, फुटसल सभा, आमसभा, जुलुस, हाटबजार, साइकल र मोटरसाइकलमा गरिने व्यापार, रङ्गशालामा हुने दर्शक सहितको खेलकुद, तालिम, सेमिनार लगायतका कार्य भने पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।
मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य पूजा मात्र गर्न भने छुट दिइएको छ । सामाजिक र सांस्कृतिक कार्यहरु विवाह, ब्रतबन्ध लगायतमा १५ जना भन्दा बढी सहभागी नहुने र सहभागीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी स्वीकृति लिएर सञ्चालन गर्न अनुमति दिइएको छ ।
तनहुँमा दैनिक कोरोना सङ्क्रमित बढ्दैछन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ७६ पुगेको छ । वैशाखदेखि यता जिल्लामा चार हजार ६ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा चार हजार एक सय २२ निको भएका छन् । त्यस्तै ९९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । ६ हजार ९३ जनाको पिसिआर र ६ हजार तीन सय ४७ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।