बन्दिपुर : गण्डकी प्रदेशका पर्यटन, उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिएको सिद्धगुफाको भ्रमण गरेका छन् ।
बन्दिपुर-४ विमलनगर नजिकै रहेको सो गुफाको मन्त्री शर्माले सोमबार भ्रमण गरेका हुन् । मन्त्री कंडेलले गुफा अत्यन्तै आकर्षक, ऐतिहासिक , कलात्मक र सडक पहुँचबाट नजिक रहेको भएपनि प्रचारप्रसारको कमीले ओझेलमा परेको बताए । उनले गुफा नजिकै भगवान शिवको मूर्ति स्थापना गर्न प्रदेशबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सोही क्रममा मन्त्री कंडेलले विमलनगरस्थित रक क्लाइम्बिङको समेत अवलोकन गरे । उनले साहसिक खेलका कारण पनि बन्दिपुरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उल्लेख गरे । मुग्लिङ पोखरा सडक विस्तार गर्दा सकेसम्म अर्को विकल्प प्रयोग गरी यसको संरक्षण गर्नुपर्ने उनको भनाई थियो ।
गण्डकी प्रदेश सांसद सरिता गुरुङले गण्डकी प्रदेशमा पर्यटनको माध्यमबाट विकासको सम्भावना भएको उल्लेख गरिन् ।
पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुन्द्री सतहबाट ६ सय मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ ।
विसं २०४४ साल चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर सम्लिीङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।