दमाैली : जिल्ला प्रशासन कार्यालय तनहुँमा आजदेखि मतदाता नामावली दर्ता शुरु भएको छ । निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यालयमा मतदाता नामावली दर्ता शुरु भएको हो ।
प्रशासन कार्यालयबाट नागरिकता जारी गर्ने बित्तिकै मतदाता नामावली दर्ताका लागि व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयबाट एक जना कर्मचारी खटाइएको छ । “निर्वाचनमा सहभागी हुन पाउनु प्रत्येक नेपाली नागरिकको अधिकार हो, त्यसैका लागि कार्यालय परिसरमै नामावली दर्ताका लागि व्यवस्था मिलाएका छौ,” उनले भने, “मतदाता नामावलीमा दर्ता गर्न जो सुकैले पनि यहाँ आएर सेवा लिन सक्छन् ।”
प्रशासन कार्यालयबाट हाल दैनिक एक सय ४० भन्दा बढी नागरिकता वितरण भइरहेको छ । मतदाता नामावली दर्ताका लागि भीड भएमा कर्मचारी थप गरिने बरालले बताए । प्रशासन कार्यालयका अतिरिक्त निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँले गत साउन ३ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य शुरु गरेको थियो । कार्यालयले जिल्लाका दशवटै स्थानीय तहका नागरिकलाई मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि सूचना जारी गरेको छ ।
कार्यालयले नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ । मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि नेपाली नागरिकताको सक्कलै प्रति र प्रतिलिपि लिई स्वयं उपस्थित हुनुपर्ने शर्माले बताए । कुनै पनि मतदाताको मतदाता नामावलीमा रहेको नाम, ठेगाना, मतदान स्थल, जन्ममिति, नागरिकता नम्बर, बाबुको नाम थर, आमाको नाम थर, पति वा पत्नीको नामथर लगायतका विवरणमा रहेका त्रुटी सच्याउनका लागि सोही विवरण खुल्ने कागजात आवश्यक पर्ने कार्यालयले जनाएको छ ।
कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाइँ सरी गएको कारण मतदाता नामावलीबाट नाम हटाउन चाहेमा आवश्यक कागजात सहित कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ ।
मतदाता नामावलीबाट नाम हटाउने वा नहटाउने सम्बन्धमा जिल्ला निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी हटाइएका मतदाताको विवरण मतदाता नामावली ऐन, २०७३ को दफा १८ को उपदफा (३) बमोजिम अद्यावधिक गर्ने प्रयोजनका लागि प्रत्येक महिना जिल्ला निर्वाचन कार्यालय तनहुँमा र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गरिने कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार जिल्लामा विसं २०७४ को निर्वाचन अनुसार तनहुँमा दुई लाख ११ हजार तीन सय ९६ मतदाता रहेका थिए । गत पुस ५ गते भन्दा अगाडी जिल्लामा २० हजार भन्दा बढी मतदाता थपिएका छन् । जिल्लामा गत निर्वाचनमा दश वटै स्थानीय तहमा गरी १ सय ३६ मतदान स्थल र २ सय ६५ मतदान केन्द्र रहेका छन् ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।