सहज रुपमा जनतालाई सेवा प्रवाह गर्न मुख्यमन्त्री पाेखरेलको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सहज रुपमा जनतालाई सेवा प्रवाह गर्न मुख्यमन्त्री पाेखरेलको निर्देशन

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७८, बिहीबार

    तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न तनहुँका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति तनहुँले बिहीबार जिल्लास्थित कार्यालयका प्रमुखसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले आम नागरिकले सहज रुपमा सरकारी कार्यालयबाट सेवा पाउनुपर्नेमा जोड दिए ।

    कर्मचारी भनेको स्थायी सरकार भएको उल्लेख गर्दै पोखरेलले भने, “लोकतन्त्रका लागि सुशासन पहिलो प्राथमिकता हो, कार्यालयले प्रवाह गर्ने सेवा सुशासनमुखी हुनुपर्छ ।” मुख्यमन्त्री पोखरेलले सरकारी कार्यालयमा ढिलासुस्ती नगर्न कार्यालय प्रमुखको ध्यानाकर्षण गराए ।

    मुख्यमन्त्री पोखरेलले तीन तहको सरकारको समन्वयले मात्रै विकास निर्माण सम्भव रहेको उल्लेख गरे । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेकामा जोड दिँदै उहाँले सरकार परिवर्तन भएपनि दायित्व परिवर्तन नहुने उल्लेख गरे । “विगतका सरकारले ल्याएका योजना कार्यान्वयन गर्नु अहिलेको सरकारको दायित्व हो, गण्डकी प्रदेश सरकार पनि सोहीतर्फ अगाडी बढिरहेको छ,” उनले भने ।।

    मुख्यमन्त्री पोखरेलले विपद्बाट गण्डकी प्रदेशमा पनि ठूलो क्षति भएकाले क्षति पुनर्निर्माण गर्नुपर्ने अहिलेको मुख्य चुनौति रहेको बताए । विपद्बाट पूर्ण घर क्षति हुनेलाई तत्काल रु एक लाख दिने सरकारले निर्णय गरिसकेको उनले जानकारी दिए ।

    कोभिड नियन्त्रण पनि चुनौतिको रुपमा रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले तेस्रो लहरको रोकथामका लागि अहिल्यैदेखि तयारी गर्नुपर्नेमा जोड दिए । प्रदेशवासीलाई खोप उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै उनले ८ लाख प्रदेशवासीले खोप पाइसकेको र बाँकीलाई पनि खोप प्रदान गरिने बताए ।

    समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले समन्वय समितिलाई थप अधिकार प्रत्यायाेजनका लागि आवश्यक कानून निर्माणका लागि मुख्यमन्त्रीकाे ध्यानाकर्षण गराए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कोभिड सन्दर्भमा तनहुँका अस्पतालको सुदृढीकरण गर्न आवश्यक रहेकामा मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शान्ति सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन लगायतका काममा स्थानीय तहसँग सहकार्य गर्दै अगाडी बढेको बताए । उनले जिल्लामा प्रहरी जनशक्ति कम हुँदा काम गर्न असहज भएकाले त्यसविषयमा आवश्यक व्यवस्था मिलाउन मुख्यमन्त्रीसँग अनुरोध गरे ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले कोभिड कहरका कारण धेरै आयोजना सम्पन्न हुन नसकेकाले अधुरा योजनाका लागि बजेट विनियोजन गरिदिन आग्रह गरे । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले दमौली अस्पतालको स्तरोन्तिका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

    कार्यक्रममा समन्वय समितिका उपप्रमुख पवित्रा पाैडेल, सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङ लगायतले धारणा राखेका थिए ।