दुलेगौडा : कोरोना नियन्त्रणमा तनहुँका स्थानीय तहले मनपरी खर्च गरेको खुलेको छ । पहिलो चरणमा फैलिएको कोरोना नियन्त्रणका लागि यहाँका स्थानीय तहले १० गुणासम्म बढी मंहगो मुल्य तिरेर स्वास्थ्य सामग्री खरिद गरेको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनले औल्याएको छ ।
मास्क, पीपीई, थर्मोमिटर खरिदमा बेतिथी देखिएको छ । कोरोना नियन्त्रणमा खटिएकालाई दिईएको जोखिम भत्ता, विपन्नलाई राहत वितरणमा पनि महालेखाले प्रश्न उठाएको छ ।
के एन ९५ मास्क खरिदमा तनहुँका स्थानीय तहबीच नै तेब्बर बढी मुल्य फरक देखिन्छ । ऋषिङ गाउँपालिकाले १ सय ४५ रुपैयाँका दरले ७ सय थान मास्क खरिद गरेको छ । तर, शुक्लागण्डकी नगरपालिकाले के एन ९५ मास्कलाई ४ सय ८३ रुपैयाँ तिरेर ५ सय ८० थान खरिद गरेको महालेखाले जनाएको छ ।
इन्फ्रारेड थर्मोमिटर खरिदमा गण्डकी प्रदेशको अन्य स्थानीय तहको तुलनामा तनहुँको स्थानीय तहले १० गुणा बढी मंहगो शुल्क तिरेको पाईएको छ । गोरखाको गोरखा नगरपालिकाले थर्मोमिटर १ हजार रुपैयाँ दरले १० थान किन्दा तनहुँको देवघाट गाउँपालिकाले १० हजार रुपैयाँ तिरेको देखिन्छ ।
पिपिई खरिदमा पनि यस्तै ब्रह्मलुट पाईएको छ । गोरखाको शहिद लखन गाउँपालिकाले १ हजार ९ सय २१ रुपैयाँका दरले ३० थान खरिद गरेकोमा देवघाट गाउँपालिकाले १० हजार रुपैयाँका दरमा ६ थान पिपिई खरिद गरेको देखिन्छ । व्यास नगरपालिकाले ६ हजार ८६ रुपैयाँका दरले २ सय १३ थान पीपीई किनेको छ ।
‘एकै प्रकृतिको सामानको मुल्यमा धेरै फरक देखिनु उचित देखिएन । आपतकालीन अवस्थामा सामग्रीहरू खरीद गरेको भएतापनि प्रति इकाई मूल्यमा धेरै फरक पारेर खरिद गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्छ । स्थानीय तहले औषधि उपकरण, स्वास्थ्य सामग्री खरिद गर्दा आइटम दरमा अत्याधिक अन्तर देखियो । यसबाट यी सामाग्री मितव्ययी तवरले खरिद भएको आश्वस्त हुने अवस्था छैन । तसर्थ फ्रेमवर्क सम्झौता गरी सरकारका सबै निकायले सोही दरमा तोकिएको गुणस्तरको सामान खरिद गर्ने व्यवस्था गर्नुपर्दछ’, महालेखाको प्रतिवेदनमा भनिएको छ ।
गण्डकी प्रदेशको देवघाट गाउँपालिका सहित ८ स्थानीय तहले क्वारेन्टिनमा बस्नेका लागी खाजा र खानामा ६२ लाख ९१ हजार रुपैयाँ खर्च गरेका छन् । मापदण्ड बमोजिम सुरक्षा निकायमार्फत व्यवस्थापन नभएको महालेखाको ठहर छ ।
देवघाटले ३२ लाख ३१ हजार रुपैयाँको राहत सामग्री खरिद गरी वडाध्यक्षलाई बुझाई वितरणका लागि पठाएकामा लाभग्राहीले बुझेको विवरण नखुलाई एकमुष्ट रुपमा भरपाई गराएको छ । ‘एकमुष्ट भरपाई गराएको कारण वितरण कार्य परदर्शी हुन सकेको छैन’, प्रतिवेदनमा उल्लेख छ ।
म्याग्दे गाउँपालिकाले कोरोनाको बेला बाँडेको राहतमा महालेखाले खोट देखाएको छ । ‘म्याग्दे गाउँपालिकाले तयार गरेको आवधिक विकास योजनामा बेरोजगारको जनसंख्या १ सय ६ रहेको देखिन्छ । तर, राहतमा ३३ लाख ३ हजार रुपैयाँ खर्च गरेकोमा राहत वितरण गरेको घरधुरी संख्या २ हजार ३ सय ४२ रहेको छ । वास्तविक समस्यामा रहेका घर परिवारको पहिचान नगरी राहत वितरण गरेको देखिन्छ । लक्षित वर्ग छनौट गरेर मात्र राहत वितरण गर्नुपर्दछ’, प्रतिवेदनमा उल्लेख छ ।
बन्दीपुर गाउँपालिकाले भत्ता वितरणमा मनपरी गरेको प्रतिवेदनमा खुलाईएको छ । स्वास्थ्यकर्मीलाई १ महिनाको मात्र भत्ता उपलब्ध गराएकोमा प्रशासनिक कर्मचारी तथा पदाधिकारीलाई ४ महिनाको पुरा अवधिको तलब बराबरको १२ लाख ११ हजार खर्च गरेको छ । कोरोना भाईरस संक्रमणको उपचार संग्लन जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ ले चैत ९ गतदेखी मात्र भुक्तानी दिने उल्लेख गरिएकोमा चैत १ गतेदेखी नै लागु हुने गरी भत्ता भुक्तानी गरेकाले ८१ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।
प्रत्यक्ष संग्लन जनशक्ति वाहेक प्रशासनिक जनशक्तिलाई ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्नेमा ४ महिनाको सबै भत्ता भुक्तानी गरेकाले बढी भुक्तानी भएको ५ लाख ६५ हजार रुपैयाँ असुल गर्न भनेको छ । आदेश अनुसार पदाधिकारीलाई भत्ता दिन मिल्ने देखिदैन् । तर, बन्दीपुरले प्रमुख र उपप्रमुखलाई समेत तलब स्केल ३८ हजार र ३६ हजार रुपैयाँका दरले ४ महिनाको २ लाख ९६ हजार रुपैयाँ भुक्तान गरेको भेटिएको छ । ‘आदेश विपरित हुने गरी भत्ता दिनु मनाशिव देखिएन’, महालेखाले भनेको छ ।
आर्थिक बर्ष २०७६÷७७ को महालेखाले गरेको परिक्षणको प्रतिवेदन हालै सार्वजनिक गरिएको हो । तनहुँका १० स्थानीयमा कोरोना नियन्त्रणमा बेतिथीसंगै बेरुजुको चाङ पनि देखिन्छ । स्थानीय तहले ३४ करोड ४९ लाख १ हजार रुपैयाँ अनियमित खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्केच : गुगल
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।