जिपीमा पहिलो पटक मलद्वार फाटेको शल्यक्रिया सफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपीमा पहिलो पटक मलद्वार फाटेको शल्यक्रिया सफल

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०७८, बिहीबार

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पहिलो पटक मलद्वार फाटेको एक बिरामीको सफल शल्यक्रिया गरिएको छ ।

    स्थानीय ६७ वर्षीया महिलाका उपचार केन्द्रका चिकित्सकले पहिलो पटक बुधबार सफल शल्यक्रिया गरेका हुन् । उपचार केन्द्रका एनेस्थेसियोलोजिष्ट डा. रमेश घिमिरे र सर्जन डा. परिवर्तन बरालले ती महिलाको शल्यक्रिया गरेका हुन् । ढाडमा सुई लगाई लठ्याएर उनको शल्यक्रिया गरिएको डा. बरालले खबरपुञ्ज डटकमलाईजानकारी दिए । उनका अनुसार धेरै कब्जियत भएका मानिसहरुमा यस्तो समस्या आउने गर्दछ ।

    उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले पहिलो पटक यसको शल्यक्रिया गरिएको र अब यसलाई निरन्तरता दिइने जानकारी दिए । उपचार केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा. विद्याभुषण ताम्राकारबाट हाडजोर्नीको शल्यक्रिया नियमित रुपमा भइरहेको जनाइएको छ ।

    अस्पतालमा तीन जना विशेषज्ञ र ९ जना मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडीबाट कल्चर सेवा पनि शुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशन लगायतका सेवा दिइरहेको छ ।

    पचास शैय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाईफाईड, ज्वरो, ग्याष्ट्रिक, पेट सम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले केही वर्ष अघि पूर्व प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भईसकेको छ ।

    अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिका सहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।