काठमाडाै : पुनः मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। देशका अधिकांश भूभागमा शुक्रबार सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गए रातिदेखि नै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको महाशाखाको भनाइ छ।
प्रदेश–१, वागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहँदा धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार यसपटक तराईमा केही दिन भारी वर्षाको सम्भावना रहेको छ।
विशेषगरी लुम्बिनी क्षेत्र आसपासका जिल्लाहरुमा केही दिनदेखि नै लगातारको वर्षा भइरहेको छ। यस्तै, पहाडका केही भूभागमा पनि भदौरे झरीसहितको भारी वर्षा हुने सम्भावना छ। त्यसले बाढी र पहिरो निम्त्याउन सक्ने भएकाले सतर्क रहन भनिएको छ।
झरीका कारण कोशी, नारायणीलगायतका ठूला तथा साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
त्यस्तै, कर्णाली, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायत नदीको बहाव पनि सतर्कता तहभन्दा माथि हुने जनाइएको छ। तराई छोएका कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, राप्ती, बबईलगायतका ठूला नदीमा बहाव बढ्दा त्यहाँका बस्ती डुबानमा पर्ने सम्भावना रहेको औँल्याइएको छ।