कांग्रेसका जिल्ला सभापतिको रिले अनशन तोडियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेसका जिल्ला सभापतिको रिले अनशन तोडियो

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७८, शनिबार

    काठमाडाै : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा जारी राखेको रिले अनशन शनिबार तोडेका छन् । 

    जिल्ला सभापतिहरूले उठाएका माग सम्बोधनका लागि शीर्ष नेताहरू तयार भएपछि यही भदौ ८ गतेदेखि सुरु भएको रिले अनशन पाँच दिनपछि तोडिएको हो ।

    जिल्ला सभापतिहरुको अनशन तोडाउनका लागि क्रियाशील सदस्यता विवाद समाधान समितिका संयोजक कृष्णप्रसाद सिटौला तथा सदस्यहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक पार्टी कार्यालय सानेपा पुगेका थिए ।  उनीहरुले सभापतिहरूले उठाएका माग सम्बोधन गर्न शीर्ष नेताबीचको सहमति भएको जानकारी गराएपछि अनशन अन्त्य गरेका हुन् ।

    जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्दै त्रुटि सच्याउने, जिल्ला सभापतिको निर्वाचनमा एक रूपता ल्याउने र सबै जिल्ला सभापतिले महासमिति निर्वाचन लड्न पाउने माग राखेका थिए । शीर्ष नेतृत्वबीच निर्वाचन निर्देशिका सच्याउने गरी सहमति भएको जानकारीपछि अनशन तोडिएको हो । 

    सहमति कार्यान्वयन नभएमा पुनः आन्दोलन सुरु गर्दै जिल्ला सभापतिहरुले पर्ख र हेरको नीतिअन्तर्गत अनशन फिर्ता लिएको बताएका छन् ।