तनहुँ : नेपाली काङ्ग्रेस तनहुँमा नयाँ सदस्यको आकर्षण बढेको छ । नेपाली काङ्ग्रेसले सार्वजनिक गरेको सदस्यता विवरण अनुसार जिल्लामा पुराना भन्दा नयाँ सदस्य बढी छन् ।
भदौ १८ गतेदेखि शुरु हुने महाधिवेशनको पूर्व सन्ध्यामा सार्वजनिक विवरण अनुसार जिल्लामा सात हजार पाँच सय ७९ नयाँ क्रियाशील सदस्य थपिएका छन् । त्यस्तै नवीकरण भएका सदस्य छ हजार ९ सय ३५ रहेका छन् । योसँगै जिल्लामा कूल क्रियाशील सदस्य १४ हजार पाँच सय १४ पुगेका छन् । दश स्थानीय तह रहेको तनहुँमा ८५ वटा वडा छन् । वडाहरुमा सबैभन्दा बढी व्यास नगरपालिका–१ मा दुई सय ९७ नयाँ सदस्य थपिएका छन् ।
स्थानीय तहमध्ये व्यास नगरपालिकामा सबैभन्दा बढी दुई हजार दुई सय ४६ सदस्य थपिएका छन् भने सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा दुई सय ४९ नयाँ सदस्य थपिएका छन् । त्यसैगरी भानु नगरपालिकामा एक हजार एक सय ४८, शुक्लागण्डकी नगरपालिकामा एक हजार ४०, भिमाद नगरपालिकामा पाँच सय ५५, देवघाट गाउँपालिकामा दुई सय ५७, बन्दिपुर गाउँपालिकामा चार सय ४२, म्याग्दे गाउँपालिकामा ७ सय ४९, घिरिङ गाउँपालिकामा दुई सय ७५ र ऋषिङ गाउँपालिकामा छ सय १८ नयाँ सदस्य थपिएका छन् ।
नवीकरणतर्फ व्यास नगरपालिकामा दुई हजार दुई सय २४, भानु नगरपालिकामा एक हजार एक सय ६५, शुक्लागण्डकी नगरपालिकामा ९ सय ४९, भिमाद नगरपालिकामा ४८६, देवघाट गाउँपालिकामा एक सय ५५, आँबुखैरेनी गाउँपालिकामा एक सय ६०, बन्दिपुर गाउँपालिकामा तीन सय ८९, म्याग्दे गाउँपालिकामा छ सय ३५, घिरिङ गाउँपालिकामा दुई सय तीन र ऋषिङ गाउँपालिकामा पाँच सय ६९ जनाको नवीकरण भएको छ ।
योसँगै अब व्यासमा कूल क्रियाशील सदस्य चार हजार चार सय ७०, भानुमा दुई हजार तीन सय १३, शुक्लागण्डकीमा एक हजार ९ सय ८९, भिमादमा एक हजार ४१, देवघाटमा चार सय १२, आँबुखैरेनीमा चार सय नौ, बन्दिपुरमा आठ सय ३१, म्याग्देमा एक हजार तीन सय ८४, घिरिङमा चार सय ७८ र ऋषिङमा एक हजार एक सय ८७ पुगेको छ ।
भदौ १८ गते नै महाधिवेशन शुरु हुने भएपछि जिल्लामा पनि सरगर्मी बढेको छ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला भएका कारण पनि तनहुँ जिल्लामा सबैको चासो छ ।
जिल्ला सभापतिका लागि कार्यवाहक सभापति जितप्रकाश आले, जिल्ला सचिव विश्व बास्तोला, पूर्व सचिव प्रा.डा. कृष्णप्रसाद गौतम लगायतको चर्चा छ । यसैगरी जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी पनि जिल्ला सभापतिको आकाङ्क्षी छन् । वर्तमान सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने पनि पुनः सभापतिमा दोहोरिने चर्चा काङ्ग्रेस कार्यकर्तामाझ चलेको छ ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल लगायत ‘हेभिवेट’ नेताहरु पनि आफू निकटका व्यक्तिलाई नेतृत्वमा ल्याउने तयारीमा लागेका छन् । “रामचन्द्र पौडेल पक्षबाट हालका सभापति न्यौपाने नै पुनः सभापति हुने सम्भावना बढेर गएको छ,” एक जिल्लास्तरीय नेताले भने ।
काङ्ग्रेस कार्यवाहक सभापति जितप्रकाश आलेले जिल्ला सभापतिका लागि आफू स्वभाविक उम्मेदवार भएको बताए । “कार्यवाहक सभापतिको हैसियतमा रहेकाले जिल्ला सभापतिको स्वभाविक उम्मेदवार म हूँ,” उनले भने ।
नगरसभापतिमा पनि आकाङ्क्षी देखिदै
जिल्लाको सबैभन्दा महत्वपूर्ण व्यास नगरपालिकाको सभापतिमा पनि आकाङ्क्षी देखिन थालेका छन् । हालसम्म नगर सभापतिका लागि ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, व्यास नगर समितिका सहसचिव डम्बर अधिकारी, हरिदत्त पौडेल, डा. शेषरमण न्यौपाने देखिएका छन् ।