जुडीफाँट–चिसापानी सडकमा पहिरै पहिरो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जुडीफाँट–चिसापानी सडकमा पहिरै पहिरो

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७८, सोमबार

    दुलेगाैडा : एक सातादेखि परेको अविरल वर्षाका कारण तनहुँ र स्याङ्जा जोड्ने शुक्लागण्डकी दुलेगौडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–चिसापानी सडकखण्डको एक दर्जन ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ । मंगलबारदेखि सडक अवरुद्ध भएको हो ।

    पहिरोले सडक अवरुद्ध भएपछि चिसापानी आसपासबाट चल्ने सवारी भानुमति उक्लेर भिमाद हुँदै यात्रा गर्न बाध्य भएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताइन् । सडक अवरुद्ध हुदाँ दुई जिल्लाको जनजीवन प्रभावित बनेको उनको भनाई छ । ‘निर्माण हँुदै गरेको सडकको धेरै ठाउँमा पहिरो खसेको छ,’ उनले भनिन् ।

    गत असारको शुरुमै यो सडक खण्डमा दर्जन बढी स्थानमा पहिरो खसेको थियो । झण्डै एक हप्तापछि पहिरो हटाएर सडकमा सवारी चल्न मिल्ने बनाईएको थियो । अहिले फेरि एक साता लगातार परेको अविरल बर्षाको क्षतिले सडक अवरुद्ध भएको पराजुलीले जानकारी दिइन् ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि स्याङ्जाको हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने यो सडक कालोपत्रेका लागि स्तरोन्नितको काम भईरहेको छ । प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भईरहेको हो । ३२ करोड ६५ लाख ४७ हजार १ सय ४९ रुपैयाँमा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरेको छ ।

    पटक–पटक पहिरोले सडकमा क्षति पुग्दा निर्माण कम्पनीले करोडौँको नोक्सानी व्यहोर्नुपरेको जनाईएको छ । असारमा मात्रै निर्माण कम्पनीले एक करोड रुपैयाँको क्षति भोग्नुपरेको थियो । अहिले सडकमा एक दर्जन बढी स्थानमा पहिरो झरेर बाटो पुरिएको आयोजनाका व्यवस्थापक सन्तोष खड्काले जानकारी दिए ।

    उनका अनुसार चार ठाउँमा ग्याबिन जाली पहिरोले बगाएको छ । करिब ४ किलोमिटर ग्राभेल बगाएको उनले बताए । यसपाली पनि कम्पनीलाई एक करोड रुपैयाँको हाराहारीमा क्षति भएको उनको दाबी छ । ‘क्षतिको विवरण संकलन गरिरहेका छौँ । विवरण संकलन सकेपछि छिट्टै सडक खुलाएर सवारी चल्न मिल्ने बनाउँछौँ’, खड्काले भने ।